काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गते शुरु हुँदै छ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार चैत ७ गते अर्थात परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ।
तर यता काठमाडौँ महानगरपालिकाले आधारभूत शिक्षा उत्तीर्ण (कक्षा ८) को परीक्षा पनि चैत ७ गतेदेखि सञ्चालन हुने निर्णयसँगै परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ। जसकारण एसइई परीक्षा र कक्षा ८ को परीक्षा जुधेको छ।
काठमाडौँ महानगरपालिकाले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार कक्षा ८ को चैत ७ गते अंग्रेजी विषयको परीक्षा हुनेछ। यसरी महानगरपालिकाले एसइई र कक्षा ८ को परीक्षा जुधाएपछि अधिकांश सर्वसाधारणहरू स्कुल, विद्यार्थी, एसइई परीक्षा र अभिभावकहरूलाई असर पुग्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन्।
महानगर भन्छ-एसइई परीक्षामा असर पुग्दैन
महानगरपालिका शिक्षा विभागका विभागीय प्रमुख गोविन्दप्रसाद शर्माले एसइई परीक्षालाई असर नपुग्ने गरि कक्षा ८ को परीक्षा समय तोकिएको जानकारी दिए। ‘एसइई परीक्षालाई असर पुग्दैन, त्यसैले नै यही समय परीक्षा समय तोकिएको होला, अहिले म बाहिर छु,’ उनले भने।
महानगरपालिका शिक्षा विभागका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले फागुनमा कक्षा-८ को कोर्स पठनपाठन नसकिने भएकाले चैतमा परीक्षा तोकिएको जानकारी दिए।
‘यो परीक्षा विषयमा हामी व्यापक छलफल गर्याैँ,’ उनले भने, ‘फागुनमा परीक्षा सञ्चालन गर्ने कि भनेको तर कोर्स नसकिने भएपछि चैतमा सारेका हौँ।’
उनले एसइई परीक्षालाई असर नपुग्ने गरि कक्षा-८ को परीक्षा समय तोकिएको बताए।
‘एसइई परीक्षा विहान ८ बजेदेखि विहान ११ बजेसम्म सञ्चालन हुन्छ तर कक्षा ८ परीक्षा दिउँसोको समयमा सञ्चालन हुन्छ। कक्षा-८ को परीक्षा दिउँसो १:३० बजेदेखि ३:३० सम्म सञ्चालन हुन्छ, त्यसैले एसइई परीक्षा र कक्षा ८ को परीक्षा समय फरक रहेकाले एसइई परीक्षामा असर पुग्दैन, त्यही भएर पनि हामीले परीक्षा समय तोकेका हौँ,’ उनले भने।
कक्षा ८ को वार्षिक परीक्षा स्थानीय तहबाट सञ्चालन हुने व्यवस्थासहित अहिले स्थानीय तहहरू देशभरका सामुदायिक तथा निजी विद्यालयमा कक्षा-८ को परीक्षा सञ्चालन गर्दै आएको छ। विगतमा उक्त परीक्षा जिल्ला शिक्षा कार्यालयले परीक्षा गराउँदै आएको थियो।
कुन दिन के विषयको परीक्षा?
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइई परीक्षा तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ।
चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा, संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछन्।
काठमाडौँ महानगरपालिकाले हिजो (सोमवार) सार्वजनिक गरेको कक्षा ८ को परीक्षा हकमा परीक्षा तालिकाअनुसार चैत ७ गते अंग्रेजी, संस्कृत शिक्षातर्फ अंग्रेजी वा संस्कृत रचना विषयको परीक्षा हुनेछ।
चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत ११ गते विज्ञान तथा प्रविधि, संस्कृततर्फ विज्ञान तथा प्रविधि वा वेद विषयको परीक्षा हुनेछ।
चैत १२ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, संस्कृततर्फ सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा वा कर्मकाण्ड विषयको परीक्षा हुनेछ।
चैत १३ गते स्वास्थ्य तथा शारीरिक शिक्षा, वेदविद्याश्रमतर्फ संस्कृत भाषा, मदरसा शिक्षातर्फ स्थानीय विषय वा बौद्ध शिक्षा वा सम्भोटा व्याकरण वा अन्य वा आचार शिक्षा (दिनियात)‚ कुरान(अरेबिक)को परीक्षा हुने तालिकामा उल्लेख छ।
चैत १४ गते अन्तिम दिन भने स्थानीय विषय (नेपाल भाषा‚ तामाङ भाषा), वेदविद्याश्रमतर्फ संस्कृत व्याकरण वा नीति शास्त्र, मदरसा शिक्षातर्फ भोटभाषा वा पाली वा उर्दु भाषाको परीक्षा हुने परीक्षा तालिकामा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।