उत्पादन शून्य, कर्मचारीको भार मात्रै

|

काठमाडौँ : आयुर्वेदिक औषधिमा प्रतिष्ठित 'सिंहदरबार वैद्यखाना' अहिले नराम्रोसँग थलिएको छ। कुनै समय राजपरिवारदेखि सर्वसाधारणलाई स्वदेशमै औषधि उत्पादन गर्ने वैद्यखाना अहिले आफैँ थला परेको हो।

१२० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको वैद्यखानाले केही  समयअघिसम्म च्यवनप्राश मात्रै उत्पादन गर्दै आएको थियो। अहिले त त्यो पनि रोकिएको एक कर्मचारीले बताए। ‘पछिल्लो समय च्यवनप्राश‚ मात्रै उत्पादन गर्दै आइएको थियो त्यो पनि अहिले कच्चा पदार्थ सकिएपछि ठप्प छ। कच्चा पदार्थ आयातको लागि टेण्डर पनि भएको छैन’, ती कर्मचारीले भने।

एक समय देशको ८० प्रतिशत आयुर्वेदिक औषधिको हिस्सा ओगट्ने गरी औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समिति पछिल्लो ४ महिनादेखि एउटा औषधि पनि उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको छ।

कुनै समय वैद्यखानाले देशमा उपलब्ध प्राकृतिक जडिबुटी प्रयोग गरी गुर्जो चिया, तुलसी चिया, शिलाजित, च्यवनप्राश‚ अश्वगन्धा तेल र अविपत्तिकर चूर्ण जस्ता १२० प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरेर बजार पठाउने वैद्यखाना अहिले आफै भद्रगोल अवस्थामा पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा सञ्चालन हुँदै आएको सिंहदरबार वैद्यखाना विकास समिति र नेपाल सरकारतर्फका कर्मचारीबाट सञ्चालन हुँदै आएको छ।

औषधि उत्पादन नरोक्न मन्त्रीदेखि सबै सरोकारवालासँग सहयोग मागे पनि कतैबाट सहयोग नपाउँदा उत्पादन ठप्प भएको वैद्यखानाका निर्देशक डा. प्रदीप केसी बताउँछन्। ‘कच्चा पदार्थ ल्याउन नसक्दा हामीले औषधि उत्पादन गर्न सकेका छैनौँ। यसका लागि मन्त्रालय र अन्य निकायसँग पनि सहयोग मागिरहेका छौँ, तर भएको छैन’, निर्देशक डा‍. केसीले भने।

दुई महिनाअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैद्यखानाको स्थलगत अनुगमन गरेर उत्पादन नरोक्न निर्देशन दिएका थिए। त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तर अहिलेस पनि  वैद्यखानामा औषधि उत्पादन ठप्प रहेको कर्मचारी बताउँछन्।

गत पुसको पहिलो साता स्वास्थ्यमन्त्री पौडेल जम्बो टोली लिएर वैद्यखानाको अनुगमनमा गएका थिए। उनले त्यसवेला उनले वैद्यखानाका निर्देशकसहित कर्मचारीलाई ‍औषधि उत्पादन नरोक्न कडा निर्देशन दिएका थिए।

‘तपाईँहरूले उत्पादन बढाउने काममा देखिने गरी परिवर्तन ल्याउनुपर्छ’, उनले भनेका थिए, ‘तपाईँहरूको पुँजीगत क्षमता विकासका लागि के चाहिन्छ भन्नुस्। हामी सघाउँछौँ।’ तर उत्पादन नबढाई तलब र उपदान दिन नसकिने उनले बताएका थिए।

तर स्वास्थ्यमन्त्रीले  नै बाचा पूरा नगर्दा अहिले वैद्यखानाको उत्पादन ठप्प भएको कर्मचारी बताउँछन्। ‘मन्त्रीज्यू आएर निर्देशन मात्रै दिएर जानुभयो। प्रतिबद्धता पूरा गर्नु भएन। त्यसैले अहिले यहाँको उत्पादन ठप्प छ’, वैद्यखानाका एक कर्मचारीले भने।

एकातिर उत्पादनका लागि बजेट अभाव अर्कातिर कर्मचारीको भारले बेहाल अवस्थामा पुगेको छ। हाल विकास समितितर्फ ४२ र नेपाल सरकारका २ जना कर्मचारी गरी ४४ जना कर्मचारी रहेका छन्।

राजा प्रताप मल्ल (वि‍सं १६९८-१७३१) को पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको वैद्यखानाबाट उत्पादन गरिने औषधि पछिल्लो समय कोरोना महामारीको समयदेखि लोकप्रिय बनेको थियो।

कोरोना महामारीको समयमा वैद्यखानाले उत्पादन गरेका औषधि बेचेरै दैनिक एक लाखसम्म मुनाफा कमाउँदै आएको बताइन्छ। तर पछिल्ला दिनमा वैद्यखाना औषधि उत्पादन गर्ने कच्चा पदार्थ समेत खरिद गर्न नसक्ने अवस्थामा पुगेको छ।

लामो समयदेखि कच्चा पदार्थ खरिद गर्न नसकेपछि हाल औषधि उत्पादन हुन नसकेको त्यहाँका वैद्यखानाका कविराज सुमनकुमार झा बताउँछन्। ‘ कच्चा पदार्थ आयत नहुँदा अहिले औषधी उत्पादन ठप्प छ’उनले भने।

स्वास्थ्यमन्त्री पौडेलले गत २५ कात्तिकमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशक रहेका डा. केसीलाई त्यहाँबाट हटाएर पद र दरबन्दी नभएको सिंहदरबार वैद्यखानाको निर्देशक बनाउने निर्णय गरेर पठाएका थिए। डा. केसीले त्यस वेला मन्त्री समक्ष दरबन्दी नभएको ठाउँमा नजाने अडान गरेर पनि मन्त्री पौडेलले आग्रह गरेपछि उनले निर्देशकको जिम्मेवारी सम्हालेका थिए।

तर पछि स्वास्थ्यमन्त्री पौडेलले नै उनलाई ‘किन काम गर्न नसकेको’ भन्दै स्पष्टीकरण मागेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.