हेटौँडा : मालती उप्रेती मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१ स्थित अमर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएकी १० वर्ष जति भयो।
उनी सोही वडाकी बासिन्दा पनि हुन्। प्रधानाध्यापक भइसकेपछि मालतीले शैक्षिक क्षेत्रसँग जोडिएका गाउँ समाजका वास्तविकता नजिकबाट नियाल्न र अनुभव गर्न पाइन्।
मकवानपुरको कैलाश गाउँपालिकास्थित शान्ति सृजना प्राविमा २०५२ सालदेखि शिक्षण गर्न थालेकी मालतीले हेटौँडा उपमहानगरपालिका–११ स्थित शंकल ज्योति प्रावि (हालको मावि) मा २०५५ सालदेखि २०६१ सालसम्म संस्थापक प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरेकी थिइन्।
त्यसपछि हेटौँडा–१३ स्थित पदमपोखरीमा रहेको युगचेतना प्रावि (हालको मावि) मा उनले शिक्षण गरिन्। त्यहाँ उनी प्रधानाध्यापक नभए पनि उनले प्रधानाध्यापकसरहकै भूमिकामा काम गरेकी थिइन्।
२०६३ साल पुस १ देखि भने उनी हेटौँडा–१ स्थित अमर माविमा कार्यरत छिन्। २०६१ सालदेखि आबद्ध भएको विद्यालयमा उनले प्रधानाध्यापकको जिम्मेवारी भने २०७१ सालमा पाएकी हुन्।
तत्कालीन विद्यालय व्यवस्थापन समितिले मालतीको लगनशीलता र क्षमता मूल्याकंन गर्दै विश्वास गरेर उनलाई उक्त जिम्मेवारी प्रदान गरेका थिए।
उनले जिम्मेवारी लिने क्रममा प्रावि तहसम्म पढाई हुने विद्यालय अहिले मावि भएर सञ्चालित छन्। मालतीले प्रधानाध्यापक नियुक्त भइसकेपछि हाल उक्त विद्यालयमा दोब्बरभन्दा बढी विद्यार्थी अध्ययन गर्न आउने गरेका छन्।
विगतमा मुस्किलले साढे ३ सय विद्यार्थी अध्ययनरत विद्यालयमा हाल ६५२ विद्यार्थी अध्ययनरत छन्।
प्रावि तहसम्म अध्ययन हुँदा पनि प्रत्येक वर्ष नगरस्तरीय शैक्षिक मापनबाट प्रत्येक कक्षाका विद्यार्थीहरुको नतिजा उत्कृष्ट आउने गरेको उक्त विद्यालयमा मावि तहसम्म सञ्चालन हुँदा पनि एसइईमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ।
यसबीच एक वर्ष नगरमै दोस्रो र जिल्लामा चौथो स्थान हासिल गरेर उपमहानगरबाट समेत पुरस्कृत भइसकेका छन् ।
कक्षा १० सम्म संचालन भइरहेको उक्त विद्यालयमा प्रधानाध्यापक उप्रेतीले आगामी दिनमा १२ कक्षासम्म अध्यापन गराउने योजना रहेको बताइन्।
‘प्लस-टु सम्म संचालन गरेर प्राविधिक शिक्षामा जोड दिने र आगामी वर्षदेखि अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने योजना बनाएकी छु,’ उनले भनिन्, ‘त्यसो गरेमा विद्यार्थी पनि बढाउन सकिन्छ र राम्रो शिक्षा पनि प्रदान गर्न सकिन्छ भन्ने अपेक्षा छ।’
विद्यार्थीहरुको सिकाई उपलब्धि उच्च गराउन कमजोर विद्यार्थीहरुलाई थप शिक्षा प्रदान गर्ने र राम्रा विद्यार्थीहरुलाई प्रोत्साहन गर्न सके विद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्न सक्ने उनले बताईन्।
प्रधानाध्यापकको जिम्मेवारीमा आएका चुनौतीहरुलाई अवसरको रुपमा लिएर अगाडि बढ्नुपर्ने उनी बताउँछिन्। एक्लो वक्तिको प्रयासमा कोही पनि सफल हुन नसक्ने भन्ने उनी विद्यालय सफल बनाउन शिक्षक, शिक्षिका र व्यवस्थापन समितिको सहयोग अत्यावश्यक रहेको ठान्छिन्।
कुनै पनि ठाउँ, संस्थाको नेतृत्वमा रहेर काम गर्दा सम्बन्धित क्षेत्रमा रहेका साझा चुनौती त सबैमाथि आइपर्छन् नै तर मालतीले झेल्नुपरेका कतिपय चुनौती भने महिला हुनुसँग जोडिएका छन्।
प्रधानाध्यापक भइसकेपछि उनले पितृसत्तात्मक सोच र दृष्टिकोण भएका कतिपय व्यक्तिहरूले महिलामाथि गर्ने अविश्वासजन्य व्यवहारका कारण थपिएका चुनौती पनि भोगिन् र अझै भोग्ने क्रम जारी छ।
यसमा प्रधानाध्यापक भनेको पुरुष नै हुन्छ भन्ने मानसिकता पनि पर्छ। समाजका कतिपय व्यक्तिमा रहेको त्यस्तो मानसिकता अझै फेरिएको उनले पाएकी छैनन्।
त्यसैले आफू प्रधानाध्यापककै कुर्सीमा बसेका वेला पनि ‘हेडसर खोई?’ भनेर सोध्नेहरुलाई उनले ‘म नै हो’ भनेर भन्नु परिरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।