काठमाडौं : पशुपतिनाथको छाया दर्शन विधि मंगलबार गरिएको छ। प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन यो विधि गरिन्छ।
सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिवलिंगको छाया दर्शन गराउने परम्परा छ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले पशुपतिनाथको शिव लिङ्गको पूजा गर्ने र नयाँ मुकुट पहिराउने परम्परा छ। यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिवलिङ्गको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ।
आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । यसरी छाया दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ। भक्तजनले लाम लागेर पशुपतिनाथको छाया दर्शन गरेको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।