|

काठमाडौं :  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना आज सुरु हुँदैछ। 

गएराति १२ बजे मतदान सकिएको र आज विहान १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको पार्टीको निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीले जानकारी दिए। उनका अनुसार निर्वाचन कार्यालयबाटै प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी गरिएको छ। 

१३ सयभन्दा धेरै प्रतिनिधि भए पनि मतदान राति अबेर भएका कारण ११ सय हाराहारी मात्रै मत खसेको पुरीले बताए। पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी निर्वाचित हुने ९० पदमध्ये ७० पदमा निर्वाचन भएको हो। 

अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्। पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतपत्र छुट्टै भएकाले आज दिउँसोसम्म परिणाम आइसक्ने पुरीले बताए।

महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै विभिन्न क्लस्टरबाट १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.