काठमाडौँ : नेपालमा वर्षेनी वन डढेलोका कारण जनधनको क्षति हुने गरेको छ। बढ्दो अनियन्त्रित वन डढेलोका कारण भौतिक तथा मानवीय क्षति गम्भीर बन्दै गएको विज्ञ बताउँछन्।
विशेषगरी चैत लागेपछि डढेलोको सम्भावना बढी हुन्छ तर पछिल्ला वर्षमा हिउँदमा पानी कम पर्दा बढ्दो सुक्खा सँगै विभिन्न कारण हिउँ पर्ने सिजनमा हिमाली जिल्लामै पनि आगलागीका घटना भएका छन्।
एक महिनामा २५ जिल्लामा डढेलो
गत एक महिनामा डढेलोका कारण देशका २५ जिल्ला प्रभावित भइसकेका छन्। म्याग्दीमा १५, गोरखामा १४, रुकुम (पश्चिम) मा १०, रोल्पामा ९, जाजरकोटमा ७ वटा आगलागी भएका तथ्यांक छ।
एक हप्तामा मात्र दुई दर्जन बढी डढेलोका घटना हुँदा सबैभन्दा धेरै बागमती प्रदेशमा र कम सुदुरपश्चिममा भएका छन्। धादिङ, लमजुङमा ६/६, मकवानपुर र नुवाकोटमा ५/५, काभ्रेपलाञ्चोक, रसुवा, रुकुम (पूर्व)मा ४/४, डोल्पा, कञ्चनपुर, सिराहामा ३/३, अछाम, दार्चुला, कालिकोट, सर्लाहीमा २/२, काठमाडौँ, महोत्तरी, सिन्धुपाल्चोक, सोलुखुम्बुमा एक/एक वटा आगलागीका घटना भएको तथ्यांकले देखाउँछ।
एक महिनामा वन डढेलो र आगलागी जोड्दा कुल ४१३ वटा घटना भएका वन तथा वातावरण मन्त्रालयले जनाएको छ। यस्ता घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् भने ८४ जना घाइते भएका छन्।
यस्तैगरी, ३२६ चौपाया मरेका छन् भने ५३ वटा भौतिक संरचना नष्ट भएका छन्। गतवर्ष डढेलोबाट ७४ जिल्ला प्रभावित भएका थिए। डढेलोका कारण बहुमूल्य र औषधीय जडिबुटी, काठ, वन्यजन्तु तथा पशुपन्छीका वासस्थान, चरन क्षेत्र नष्ट हुने गरेको छ।
डढेलोका मासिक घटना
नेपालमा आर्थिक वर्ष २०६४/६५ देखि २०७९/८० को तथ्यांक हेर्दा, विशेषगरी फागुनको मध्यदेखि वैशाखको मध्यसम्म धेरै आगलागी हुन्छन्। यस अवधिमा ७४ प्रतिशत र चैतदेखि वैशाखसम्म ५१ प्रतिशत आगलागीका घटना भएका छन्।
जनवरीमा सबैभन्दा कम ४ वटा आगलागीका घटना सन् २०१५ मा भएको थियो भने सबैभन्दा धेरै २०१८ मा ३७३ घटना भएका थिए।
सन् २०१५ को फेब्रुअरीमा ४३ वटा आगलागी हुँदा फेब्रुअरी महिनामा सबैभन्दा धेरै आगलागी २०१६ मा ३१० घटना भए। हरेक वर्ष मार्च र अप्रिलमा धेरै डढेलो लागेको छ।
२०२१ मा सबैभन्दा धेरै मार्चमा १९५४ र अप्रिलमा ३८८३ वट डढेलोका घटना भएका थिए भने २०१६ मार्चमा १२७९ र अप्रिलमा ३८६३, सन् २०१८ मार्चमा ११४४ र २०१७ अप्रिलमा १३४३ वटा घटना भएका तथ्यांक छ।
वार्षिक घटना र औसत क्षति
पन्ध्र वर्षको अवधिमा सबैभन्दा धेरै डढेलो २०२१ मा लागेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाए अनुसार २००८ यता को तथ्यांक हेर्दा २०२१ मा देशभर ६ हजार ५३७ वटा, २०१६ मा ६२३४ डढेलोका घटना भएका थिए भने २०१५ मा ७०८ घटना भए। गतवर्ष पनि ५ हजार २ सयभन्दा बढी डढेलो लागेको थियो।
नेपालमा वन डढेलोको कारण औसत रुपमा वार्षिक ८ जनाको मृत्यु, ८ जना घाइते, ९१ वटा घर गोठ नष्ट हुने गरेको तथ्यांक छ। आव २०६१/६२ देखि २०८०/८१ सम्म आगलागी १४३ जनाको मृत्यु, १४० जना घाइते भएका छन् भने १ हजार २७१ वटा घर गोठ जलेर नष्ट भएको छ।
सबैभन्दा धेरै मानवीय क्षति २००९ मा भएको थियो। नेपालमा डढेलो तथा आगोमा जलेर त्यस वर्ष ४९ जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। विगत २० बर्षको तथ्यांक हेर्दा वार्षिक सरदर ३ हजार वन डढेलोको घटना हुने गरेको र यसबाट करिब २ लाख हेक्टर वन नष्ट हुन पुगेको छ।
कसरी लाग्छ डढेलो
जलवायु परिवर्तनको असर, हिउँदे खडेरी, बढ्दो तापक्रम वृद्धिसँगै सुक्खापन, मानवीय कृयाकलाप र प्राकृतिक कारणले वनमा आगलागी हुने गरेको छ।
६४ प्रतिशत डढेलो एवं आगलागी मान्छेले जानाजानी लगाइदिने गरेको सरकारी तथ्यांकमा उल्लेख छ।
वनमा प्राकृतिक रुपमा आगो लागेका घटना न्यून छन्। पछिल्लो समय गाउँ वस्तीबाट युवा पलायन हुँदा जनशक्तिको अभाव, बारी पाखा बाँझो भई झाडी बढ्न गई वन र वस्ती जोडिने, वन जंगलमा परम्परागत रुपमा प्रयोग हुन छाडेपछि ज्वलनशील पदार्थ थुप्रिएका कारण पनि वन डढेलोको जोखिमलाई थप बढावा दिएको वन डढेलो अध्यता सुन्दरप्रसाद शर्माको भनाई छ।
यस्तैगरी हिउँदमा करिब १० प्रतिशत वर्षा हुनुपर्नेमा कम हुनु, जलवायु परिवर्तनको असरसँगै प्रविधि, आर्थिक स्रोत, दक्ष जनशक्तिजस्ता प्रतिकार्य क्षमता र जनचेतनाको कमी पनि डढेलोलाई बढावा दिने तत्वका रुपमा देखिएका छन्।
डढेलो विज्ञ शर्मा, सचेतनाको कमीसँगै डढेलो लगाउँदा कानुनी कारवाही भोग्नुपर्ने र आगो लगाउनेको सन्दर्भमा सुराकी दिनेलाई पुरस्कृत गर्ने सम्बन्धमा वन ऐनमा भएको व्यवस्थाबारे जानकार नहुँदा पनि मान्छेले जानाजानी आगो लगाउने गरेको बताउँछन्।
‘मानवीय लापरबाहीसँगै जंगलमा पर्याप्त निगरानी, गस्ती नहुँदा पनि आगलागी बढेको छ, सरकारको उदासीनता पनि कारण हो', उनले भने। यद्यपि यस वर्ष डढेलो व्यवस्थापन गर्न पूर्व तयारीसँगै सचेतनाका सन्दर्भमा नीति निर्मातामा सचेत देखिएको उनले बताए।
डढेलो व्यवस्थापन
नेपालमा वन डढेलोको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी र प्रतिकार्य योजना २०८१/८२ बनाएर तुरुन्तै लागु गर्नुपर्ने शर्माको सुझाव छ। डढेलो व्यवस्थापन गर्नका लागि अल्पकालीन कार्यमात्र नभई दीर्घकालिन योजनाहरू बनाउनुपर्ने बताए।
‘नेपालमा अहिलेसम्म वन डढेलो व्यवस्थापनका लागि कुनै समर्पित सेक्सन/युनिट/सेल/ निकाय छैन, सबै जिम्मेवार छन् तर कोही पनि उत्तरदायी छैनन्', उनले भने, 'कुन निकायले के काम गर्ने भनि स्पष्ट तोकेर दीर्घकालिन कार्ययोजना बनाउनुपर्छ।’
स्थानीय तहलाई अझै क्षमता अभिवृद्धि गरी डढेलो विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रमुख जिम्मेवार बनाउनुपर्नेमा शर्माले जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।