|

काठमाडौं : नेपाल पुलिस क्लब चर्च ब्वाइज क्लबलाई १–० ले हराएर २४ औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। 

पुलिसको जितमा सञ्जीव लामाको गोल निर्णायक बन्यो। यस प्रतियोगिताको सफल टिममध्ये एक भए पनि पुलिसले २०७६ सालपछि मात्र आहा राराको फाइनलमा स्थान बनाएको हो । पुलिस ११ औँ पटक आहा राराको फाइनलमा पुगेको हो। पुलिसले छ पटक उपाधि जितेको छ भने चार पटक उपविजेतामा सीमित बनेको छ।

पुलिसले अब उपाधिका लागि थ्रिस्टार तथा उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबमध्ये एकविरुद्ध खेल्ने छ। खेलको ५८ औँ मिनेटमा सञ्जीवले गरेको गोलले सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज स्तब्ध हुनु परेको हो। सञ्जीवले प्रहार गरेको बल सिधै गोलपोस्टमा छिरेको थियो। निर्णायक गोल गर्ने सञ्जीव म्यान अफ दी म्याच घोषित भए। 

आहा रारा गोल्डकपमा पुलिस र चर्च ब्वाइजबिचको खेल २५० औँ खेल हो। मोफसलमा आयोजना हुने प्रतियोगितामा २५० औँ खेल पुगेको यो पहिलो पटक हो। 

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज थ्रिस्टार र ब्ल्याक बुल्सबीच खेल हुनेछ। खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुने आयोजक सहारा क्लबले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.