पाल्पा : रानीमहलमा पर्यटकलाई थप आकर्षण गर्नका लागि कालीगण्डकी नदीमा ताल निर्माण गर्न लुम्बिनी र गण्डकी प्रदेश सरकार सहमत भएका हुन्।
ऐतिहासिक महत्व बोकेको तानसेन नगरपालिका–१३ बौघागुम्हास्थित रानीमहलमा बुधबार बसेको दुई प्रदेशको समन्वयात्मक बैठकले ताल निर्माण गरेर पर्यटकलाई डुंगामा शयर गर्ने व्यवस्था मिलाउने निर्णय गरेको लुम्बिनी प्रदेशका सचिव इश्वरीराज पौडेलले बताए।
रानीमहलको प्रवद्र्धन र संरक्षण गरिनेछ। रानीमहल क्षेत्रमा जलाशयसिहतको पर्यटकीय पूर्वाधार विकास गर्ने सहमति भएको उनले बताए। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित आँधिमुहानमा रहेको कालीगण्डकी जलविद्युत आयोजनाको बाँध क्षेत्रदेखि रानीमहल हुँदै बग्ने तल्लो तटीय क्षेत्रमा पानीको बहाव एवं परिमाणलाई बढाउन सम्बन्धित आयोजनामार्फत संघीय सरकारको सम्बद्ध मन्त्रालयमा सिफारिस गरिने पौडेलले बताए।
यसैगरी, दुवै प्रदेशको बृहत्तर हितमा योगदान पुर्याउन सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गरिनेछ। दुवै प्रदेशलाई अधिकतम फाइदा हुने बहुउद्देश्यीय प्रकृतिका बृहत् जलस्रोत आयोजनाहरूको निर्माण तथा सञ्चालन आपसी समझदारीका आधारमा गर्ने सहमति भएको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हस्ताक्षर गरेको साझा प्रतिबद्धता पत्रमा उल्लेख छ।
दुवै प्रदेशका प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक तथा धार्मिक सम्पदामा आधारित पर्यटनको एकीकृत विकास गर्न साझा कार्यक्रम बनाइने भएको छ। प्रमुख गन्तव्यको सूचना दिने गरी गण्डकी प्रदेशले एकीकृत कार्यक्रम वा आवेदन सहितको सफ्टवेयर निर्माण तथा सञ्चालन गर्ने सहमति भएको पौडेलले बताए।
गोरखा–तनहुँ–स्याङ्जा–पाल्पा–प्युठान–रोल्पा जोड्ने मगर सांस्कृतिक पर्यटकीय पदमार्ग निर्माण गरिनेछ। लुम्बिनी प्रदेशअन्तर्गत थारू–अवध–नेवार र गण्डकी प्रदेशअन्तर्गत गुरूङ–थकाली–नेवार तथा समुदाय विशेष पर्यटकीय पदमार्ग विस्तारका लागि एकीकृत कार्यक्रम बनाउने समझारी भएको साझा प्रतिवद्धता पत्रमा भनिएको छ।
दुबै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर सम्भव भएसम्म एकरुपमा हुनेगरी निर्धारण गरिने भएको छ। सडक यातायात दुर्घटना न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रमहरू संयुक्त रुपमा सञ्चालन गर्ने सहमति भएको छ।
दुई प्रदेशमा खानी तथा खनिज उद्योगको स्थापना, सञ्चालन एवं विस्ता र प्राकृतिक स्रोतजन्य उत्पादनको बिक्री वितरणलाई व्यवस्थि तगर्न दुबै प्रदेशले सेवा शुल्क दस्तुर लगायतका एकरुपमा कायम गर्ने, औद्योगिक सुरक्षा, बजारीकरण र ढुवानीको सहजीकरणका लागि आवश्यक वातावरण तयार गर्ने बताइएको छ।
दुई प्रदेश जोड्ने पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट एकीकृत शहरी विकास आयोजना सञ्चालन गरिने भएको छ। आयोजना कार्यान्वयनका लागि संघीय सरकारलाई संघीय सरकारलाई सिफरिस गरिने सहमति भएको छ।
दुई प्रदेश बीचको यो पहिलो बैठक हो। दुई प्रदेशलाई समृद्ध बनाउनका लागि मिलेर काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए। समस्या पहिचान गर्नेछौं। मिलेर समाधान गर्ने उनले बताए।
दुबै प्रदेशको सहकार्य, समन्वय र साझेदारीलाई प्रवद्र्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिइने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए। आगामी बैठक गण्डकी प्रदेशले आयोजना गर्ने उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।