जनकपुरधाम : जनकपुरधाममा अवैध तथा अनधिकृत ढङ्गले सञ्चालित निजी अस्पताल बन्द गराउन मधेश प्रदेश सरकार कठोर बनिरहेको छ।
मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिँह, स्वास्थ्य अधिकारी सम्मिलित टोलीले बिहीवार जनकपुरधामका थप केही अस्पतालको अनुगमन गरेको छ।
केही दिनअघिमात्र मुख्यमन्त्री सिंहले जनकपुरधामका २१ निजी अस्पतालको अनुगमन गरी सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका अस्पताललाई बन्द गरी त्यहाँ उपचाररत विरामीलाई अन्य वैध अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए।
तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले अस्पतालमा ताल्चा लगाई सेवा बन्द गरेका थिए भने केही अस्पतालले सरकारको निर्देशन अटेर गरी पूर्ववत् सेवा सञ्चालन गरिरहेका छन्।
सरकारी निर्देशन अटेर गर्ने एकजना अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताए।
निश्चित मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति संघ, प्रदेश र स्थानीय सरकारले दिने कानूनी प्रावधान छ।
प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ। ऐनमा यस्ता अस्पताल बन्द गराई १ लाख रुपैयाँ जरिबाना गर्ने व्यवस्था छ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराई सञ्चालनमा रहेका बहुसंख्यक अस्पतालसँग अस्पताल सेवा सञ्चालन स्वीकृति छैन।
स्वीकृतिप्राप्त केही अस्पतालले नवीकरण गराएका छैनन्। भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, औषधि‚ उपकरणलगायत कमसल ती अस्पतालमा उपचार गराउँदा सेवाको गुणस्तर कायम नभई विरामीको ज्यान तथा स्वास्थ्य नै जोखिममा पर्ने गरेको छ।
जनकपुरधाममा अवैध तवरमा सञ्चालित अस्पताल सञ्चालकहरूले सरकारको अनुगमनविरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एसोसिएसन गठन गरेका थिए। उनीहरूको सो कदमलाई अपराध गर्न पाउनुपर्छ भन्ने ढिपीका रूपमा स्थानीयले अर्थ्याएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।