|

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा ७ टिमले मात्रै खेल्ने भएका छन्। 

दोस्रो संस्करण खेलेका स्पोर्टिङ इलाम र वीरगंज युनाइटेड तेस्रो संस्करणमा सहभागि नहुने भएपछि टिम संख्या घटेको हो। 

लिगको पहिलो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गरेका भए पनि दोस्रो संस्करणमा ९ टोलीले एनएसएल खेलेका थिए। पहिलो संस्करण खेलेको विराटनगरले दोस्रो संस्करण खेलेको थिएन। त्यसैले दोस्रो संस्करणमा तीन टिम थपिएर नौ टिमले खेलेका थिए। अब चैतमा हुने भनिएको तेस्रो संस्करणमा फेरि ७ टिमले मात्र खेल्ने भएका हुन्।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले बिहीबार तेस्रो संस्करणको लागि अक्सन मिति र सहभागी टिमको नाम समेत सार्वजनिक गरेको हो। 

विराटनगरले अहिले पनि खेल्ने छैन। यससँगै पूर्वको तीनमध्ये अब झापाले मात्रै खेल्ने भएको हो। झापा दोस्रो संस्करणमा थपिएको टिम हो। 

पहिलो संस्करणक खेलेका ६ टोली काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी सहित दोस्रो संस्करणमा थपिएको झापा एफसीले तेस्रो संस्करण खेल्नेछन्।

दुई टिमको ठोस योजना नभएको र गाइडलाइन अनुसार पनि नभएकोले यस पटक दुई टिम बाहिरिएको आयोजक एनएसइएमले जनाएको छ। 

तेस्रो संस्करणको एनएसएल आगामी मार्च २९ बाट सुरू हुँदैछ। तेस्रो संस्करणका लागि फागुन १० गते अक्सन हुने आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ।

पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स हो भने दोस्रो संस्करणको विजेता ललितपुर सिटी हो। धनगढी सिटी दुई पटकको उपविजेता टोली हो। 

यसपटक पनि नयाँ टोली एनएसएल खेल्ने इच्छा देखाए पनि नथप्ने निर्यण गरेको आयोजकको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.