|

पाल्पा : चारैतिर अग्लो डाँडा। फेदीमा कालीगण्डकी सुसाइरहेको छ। किनारको ढिकमा पीपलको चौपारी। त्यही चौपारीको आडमा सानो झुपडी। खरले छाएको। रातो माटोले लिपेर चिटिक्क। भित्र जाँदा पुरानो झ्याल। त्यहाँबाट नियाल्दा प्राकृतिक सुन्दरता देखिन्छ।

यो घर बगनासकाली गाउँपालिका–७ टाँकीचौरका ८३ वर्षीय ताराचन थापाको हो। कालीगण्डकीको तिरमा रहेको यस झुपडीमा उनी र उनकी श्रीमती ८० वर्षीया लाली थापा बस्छन्। विगत ४६ वर्षदेखि यही झुपडीमा बस्दै आएका छन्।

२०२९ सालको कुरा हो। कालीगण्डकी नदीमा फलामको झोलुङ्गे पुल बन्ने कुरा भयो। काम थालनी भएपछि ताराचनलाई जागिर मिल्यो। उनले पुल बनाउन ल्याएका सामानको रेखदेख गर्ने काम पाए। यसरी काम गरेबापत उनले दैनिक सुख्खा (खाना आफ्नै) ६ रुपैयाँ ज्याला पाउँथे। पुलका सामान बोक्ने मजदुरले भने सात रुपैयाँ पाउँथे। उनले हाँस्दै थपे, ‘तर नाइकेले एक रुपैयाँ खाइदिन्थ्यो। उनीहरूले पनि ६ रुपैयाँमै चित्त बुझाउनुपर्ने बाध्यता थियो। मैले बसेर पाउँथे। उनीहरूले भारी काम गर्नुपर्थ्यो।’

बागलुङ, पर्वत, गुल्मी, स्याङ्जाका सयौँ मानिस यो बाटो हुँदै बुटवल नुन तेल लिन जान्थे। पैदल हिँड्ने ढाक्रेहरू पुल नहुँदा काठको डुंगाबाट कालीगण्डकी नदी वारपार गर्नुपरेको थियो। एउटा डुंगामा सामानसहित ५/६ जना मानिस अटाउँथे। पालो नपाउँदा धेरैजना ढाक्रे यही बगरमा रहेको पौवामा दिन रात कटाउँथे। ताराचन पनि आफ्नो काम गर्दै उनीहरूसँगै रात बिताउँथे। दैलातुङ र छेर्लुङका बोटे समुदायका मानिसले डुंगा चलाएर वारपार गराउँथे।

यहाँ पुल बन्ने भएपछि ढाक्रे खुसी भए। अझै बढी ताराचन खुसी थिए। करिब तीन वर्ष अर्थात् २०३२ सालमा झोलुङ्गे पुल बनाउने काम सम्पन्न भयो। २०३३ सालमा बराङ्दी खोलामा पनि अर्को झोलुङ्गे पुल बन्यो। यो बाटो हुँदै हिँड्ने मानिसलाई पुल बनेपछि निकै सहज भयो।

मसानघाटमा बनाएको घर

यहाँ कोही बस्दैनथे। रानीमहल पनि सुनासन थियो। भत्किएको थियो। झाडीले ढाकेको थियो। ढाक्रेहरू नआउँदाको दिन एक्लै हुने गरेको उनले सुनाए। बर्खाको समयमा प्रायः उनी एक्लै हुन्थे। झाडी र जंगल थियो। वरिपरि लासहरू गाड्थे। मसान घाट हो। यहाँ बस्न हुँदैन भन्दै टाँकीचौर घरमै फर्किन गाउँलेले सुझाव दिएका थिए।

उनी यहीँ बस्ने निधो गरे। पुलमा जागिर पक्का भएपछि २०३५ सालमा मसान घाटमा नै घर बनाएको सुनाउँछन्। रानीमहलजस्तै चट्टानमाथि घडेरी बनाए। तल कालीगण्डकी। बर्खामा समेत पानीको बहावले नभेटोस् भनेर उनले किनारभन्दा केही माथि रहेको चट्टानमा घर बनाएका हुन्। आफैं माटो र ढुंगाको गारो लगाए। एक तले झुपडीलाई खरले छाए। अहिले घर चुहिने भएपछि त्रिपालले छोपेका छन्। मेरा लागि इतिहास बोकेको घर हो।

२०७२ सालमा भुकम्पले चर्काएको घर मर्मत गर्न पनि सकेका छैनन्। त्यही घरमा अहिले पनि उनको जोडी बस्दै आएको छ। खड्क शमशेरले आफ्नी रानी तेजकुमारीको नाममा रानीमहल बनाए। रानीमहल सबैका लागि प्रेमको प्रतीक बनेको छ। मेरा लागि पनि ४६ वर्ष पहिला आफैँले बनाएको घर प्यारो लागेको छ। ताराचन र उनको श्रीमती लालीलाई यही घर दरबारजस्तै लागेको छ। प्रेमको प्रतीक बनेको छ।

ताराचनका ३ छोरा र २ छोरी छन्। सबैको विवाह भइसक्यो। नातिनातिना पनि हुर्किसकेका छन्। माथि टाँकीचौरमा पनि घर छ। छोरा बुहारी त्यहीँ बस्छन्। हामीलाई पनि माथि घरमै बस्न बोलाइरहेका छन्। तर यो घरको मायाँले नगएको उनी बताउँछन्।

कुनै कुनै पर्यटक आफ्नो घरमा आएर फोटो खिच्दा खुसी लागेको उनले सुनाए। सारा जीवन मसान घाटमै बित्यो। बाँकी जीवन रानीमहल हेर्दै यही झुपडीमा बसेर बिताउने चाहना उनको छ।

भत्किएको रानीमहल बनाएँ

भताभुङ्ग भएको दरबार मैले पनि बनाएको हो। उनले भने छानो झरेको थियो। काठहरू कुहिएका थिए। काँडासितका झारले ढाकेर जान पनि डरलाग्दो भएको थियो। मर्मत गर्ने भनेपछि मैले पनि काम पाएँ। हामी १०/१२ जना मिलेर काम गरेका हौं। एउटा कुरा अचम्म लाग्थ्यो सिमेन्टी कहाँबाट ल्याउँथे पत्तै पाइन्। तानसेनबाट यहाँ आउने गोरेटो बाटो मात्रै थियो।

इट्टालाई ढिंकीमा कुटेर त्यसमा सिमेन्टीजस्तो पाउडर मिलाएर दरबारका भित्ता र भुइँ मर्मत गरेको उनले सुम्झिए। अहलभन्दा तल रहेको खोलाको पानी गोरेटो बाटोको कुनैकुनाबाट कुलो बनाएर ल्याएका थिए। दरबारमाथि एउटा बनाएको पोखरीमा जम्मा भएको पानीले दरबार बनाएका थिए। इतिहास बोकेको यस पोखरीको पनि संरक्षण गर्नुपर्ने उनले सुझाए।

यहाँ दैनीक पूजा हुन्थ्यो। पूजारीसमेत यहीँ बस्थे। दमाईं समुदायका मानिसहरूले बाजा बजाउँथे। तीनवटा ठूला घन्टी थिए। रसीले तानेर ती घन्टी बजाउँदा खोलाभरि गुन्जायमान हुन्थ्यो।

तीनवटा मन्दिरमा टलक्क टल्किने तीनवटा पित्तलका गजुर थिए। रानीमहलको झ्याल ढोकामा पित्तलकै कब्जा थिए। अहिले पूजाआजा हुँदैन्। बाजागाजा बज्दैनन्। ती गजुर र घन्टी कहाँ हराए? यसको खोजी गर्नुपर्ने उनी बताउँछन्।

राम्दीमा मोटर पुल बनेपछि पसल चलेन

जागिरसँगै उनले पसल चलाएका थिए। पसलमा चिया र घरेलु मदिरा बिक्री गर्थे। ढाक्रे उनका ग्राहक थिए। त्यतिबेला २० पैसामा एक कप चिया बेच्थे। एक बोतल घरेलु मदिरालाई ५ सुकामा बिक्री गरेको विगत ताराचनले सम्झिए। यहाँको आम्दानी र घरमा उब्जाएको खेतीले परिवारलाई दुई छाक टार्न सहज भएको थियो।

राम्दीमा मोटर गुड्ने पुल बनेपछि उनको पसल पनि चल्न छाड्यो। यो बाटो हुँदै हिँड्ने ढाक्रे गल्याङ हुँदै बुटवल जान थाले।

उनले रानीघाटको झोलुङ्गे पुल वारिपारी सफा गर्ने र हेरचाह गरेबापत महिनाको तीन हजार तलब पाउँथे। तलब बढेर ६ हजार पुगेको थियो। तत्कालीन गाउँ विकास समितिले उनलाई तलब दिन्थ्यो। रानीघाटमा पनि मोटरेबल पुल बनेपछि ताराचनको खाइपाई आएको जागिर गुम्यो।

रानीमहल वरिपरी सबै प्रकारका सेवा सुविधा भएका होटल सञ्चालनमा आएपछि उनको व्यवसाय पनि चलेन। उमेर गयो। पसल चल्न छाड्यो। जागिर गयो। तर पनि उनलाई यही रानीमहल अगाडि रहेको झुपडीमा बस्न आनन्द छ। रानीमहलको विकास देख्दा उनी खुसी छन्।

अहिले रानीमहल हेर्दा सपनाजस्तै लाग्छ

ताराचनको युवाअवस्था देखिको जिन्दगी रानीमहल वरिपरि नै बित्यो। मसानघाट भनेर मान्छे आउन पनि डराउँथे। अहिले रानीमहलको संरक्षण भयो। मर्मत भयो। सजाएर चिटिक्क बनाए। देश तथा विदेशका नयाँ नयाँ मान्छे रानीमहल हेर्न आउँछन्। दिनरात यहाँ रमाइलो हुन्छ। अहिले रानीमहल देख्दा उनलाई सपना जस्तै लागेको छ। रानीमहलमा यस्तो चहलपहल हुन्छ भन्ने उनले कल्पनासमेत गरेका थिएनन्।

गएको बुधबार लुम्बिनी र गण्डकी प्रदेशका मुख्य मन्त्री अउँदा जस्तै रानीमहल जहिले पनि सजिएको देख्ने रहर छ। अघिल्लो रातको जस्तै रंगिविरंगी र झिलीमिली जहिले पनि भइरहे हुन्थ्यो भन्ने वयोवृद्ध ताराचनको चाहना छ।

युवालाई रोजगार दिनुपर्छ

‘धेरै मान्छे आउँछन्। पक्कै पनि कमाइ हुन्छ होला’ उनले भने, ‘रानीमहल र वरिपरि थप व्यवस्थित गर्नसके यसको आकर्षक बढ्ने थियो। यस क्षेत्रका युवालाई यही क्षेत्रमा व्यावसाय सञ्चालन गर्ने वातावरण मिलाउनुपर्छ।

यस क्षेत्रको विकास गरेर युवालाई यहीँ जागिर दिए विदेश जान नपर्ने ताराचनले बताए। यहाँ उठाएको कर यही रानीमहलको विकासमा खर्च गर्न उनले आग्रह गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.