मूल्य बढे पनि खुसी छैनन् किसान

|

काठमाडौँ : प्रतिकूल मौसमका कारण यो वर्ष नेपालमा अलैंचीको उत्पादन घट्ने अनुमान गरिएको छ। अलैंची हेर्ने संघीय एवं एउटै मात्र कार्यालय अलैंची विकास केन्द्र फिक्कल, इलामका प्रमुख एवं माटो विज्ञ राजन परियार पानी नपर्दा सुक्खा भएर अलैंचीको उत्पादन घट्न सक्ने बताउँछन्।

‘अघिल्लो वर्षको भन्दा बढी उत्पादन हुँदैन, बरु पाँच दश प्रतिशत घट्न सक्छ’‚ उनले भने। 

पछिल्ला तीन वर्षमा जलवायु परिवर्तनसँगै पानीको पर्याप्त व्यवस्था गर्न नसक्दा र रोगले किसानको बगान नै सखाप हुँदा राष्ट्रियस्तरमै उत्पादन आधा घटेको परियारले जानकारी दिए।

अलैंची विकास केन्द्रका अनुसार अघिल्लो वर्ष ५ हजार मेट्रिक टन अलैंची उत्पादन भएको थियो। ‘मौसम अनुकूल नहुँदा ८ हजार मेट्रिक टन उत्पादन हुने ठाउँमा पाँच हजार मेट्रिक टनसम्म घट्यो, अझै पनि पाँच दश प्रतिशत घट्न सक्छ, यसले गर्दा अर्को वर्ष पनि मूल्य कम नहोला भन्ने छ’‚ उनले थपे।

अलैंची व्यवसायी महासंघ केन्द्रीय कार्यालयका कार्यकारी अधिकृत अनिल ढुंगाना जलवायु परिवर्तनका कारण सिजनमा पानी नपर्दा अलैंची डढेर सुकेकाले यो वर्ष पनि उत्पादन घट्ने बताउँछन्।

‘पोहर अघिल्लो वर्ष भन्दा घटेर ४ हजार मेट्रिक टन मात्र भयो, अब पनि पानी परेन भने यो पाली ३ हजार ३५ सय मेट्रिक टन मात्र उत्पादन होला’‚ ढुंगानाले भने। आर्थिक वर्ष ०८०।८१ मा ५० प्रतिशत उत्पादनमा ह्रास आएको थियो। आव ०७९।८० मा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँको अलैंची निर्यात भएको महासंघले जनाएको छ । 

करिब चार दर्जन जिल्लामा अलैंची

अलैंची मुख्य गरी पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भर पर्दो स्रोत बनेको छ। कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, भोजपुर, तेह्रथुमसहित पहाडी र उच्च पहाडी जिल्लामा अलैंची उत्पादन हुन्छ। 

गण्डकीका लमजुङ, कास्की जिल्ला, गोरखा, बाग्लुङ, बागमती प्रदेशको रामेछाप, दोलखा, काभ्रे र सिन्धुपाल्चोकका केही ठाउँसहित नेपालका ४३ बढी जिल्लामा अलैंची उत्पादन हुने गरेको केन्द्रका प्रमुख परियारले बताए। गत आर्थिक वर्षमा देशभरका कुल १५ हजार हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको तथ्यांक छ। 

अलैंचीको बजार 

कुल उत्पादनको ८५ प्रतिशत पूर्वी जिल्लामा हुने गरेको अलैंची विकास केन्द्रले जनाएको  छ। नेपालमा उत्पादन भएको अलैंचीको धेरै हिस्सा (झण्डै ९८ प्रतिशत) निर्यात हुने गरेको पाइन्छ। विशेषगरी मुख्य बजार भारत रहेको र भारतीय व्यापारीहरूले खाडी मुलुकमा पुर्‍याउने गरेका छन्। 

‘यो आवमा नेपालका केही व्यवसायीले पनि दुबई लगायतका खाडी मुलुकमा लैजानका लागि अध्ययन गर्ने, त्यहाँ आयोजना हुने कार्यक्रममा सानातिना स्टल राखेर प्रचारप्रसार गर्ने प्रयास गरिरहेका छन्’‚ परियारले भने‚ ‘विभिन्न जिल्लाबाट संकलन गरिएको अलैंची बिर्तामोड पुग्ने र झापाको काँकडभिट्टा नाका भएर भारतीय बजारमा सजिलै व्यापार हुन्छ।’ 

नेपालमै पनि उपभोग बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइएको बताउँदै परियारले थपे‚ ‘अलैंची राज्यले व्यापार गर्दैन, सहजीकरण गर्नुपर्ने हुन्छ तर आवश्यक सहजीकरण पनि हुन सकेको छैन।’ 

अलैंचीको मूल्य

पछिल्लो समय अन्ताराष्ट्रिय बजारमा नेपाली अलैंचीको माग बढ्दो छ। भारतसँगै, पाकिस्तान लगायतका देशमा पुग्न थालेपछि मागसँगै मूल्य समेत बढेको छ। 
व्यवसायीहरूका अनुसार नेपाली अलैंचीको मूल्य एक दशकपछि १ लाख रुपैयाँ नाघेको छ।

करिब १० वर्षअघि अलैंचीको मागसँगै मूल्य पनि बढेर १ लाख २० हजार रुपैयाँसम्म पुगेको थियो। बीचमा घटेको भाउ अहिले आफ्नो ठाउँमा आएको परियारले बताए। हाल प्रतिमन (४० केजी) १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छ। यसको मुख्य कारोबार हुने समय साउन, भदौ असोज हो। त्यस वेलासम्म मूल्य थपघट हुनसक्ने कार्यकारी अधिकृत ढुंगानाले बताए। 

अलैंचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको हुन्छ। ठूला र राम्रो दानाको प्रतिमन १ लाख माथि, पुच्छर काटेको अर्थात् कैँची कट ९८ हजार र सुकाएर निकालेको चलन चल्तीको अलैंची ९५ हजार प्रतिमनका दरले कारोबार भइरहेका छन्। व्यवसायीहरूका अनुसार मसलाको रूपमा प्रयोग हुँदै आएको अलैंची आयुर्वेदिक प्रयोगका लागि चीनले पनि अध्ययन गर्दै छ। 

अलैंचीको जात 

नेपालमा करिब १४ जातका अलैंची खेती हुने गरेको छ तर हालसम्म अलैंचीका पाँच जातमा दर्ता भएका छन्। माटो विज्ञ परियारका अनुसार नेपालमा हाल दर्ता भई खेती भइरहेका अलैंचीको जातमा रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भर्लाङ्गे छन्। 

वि.सं १८५० मा नेपालमा खेती भएको मानिएको रामसाई जातको अलैंची प्रतिरोपनी ३१ किलो उत्पादन हुने ६ हजार हेक्टर बढीमा खेती हुने गरेको पाइन्छ। 

यस्तैगरी विशेषगरी इलामको प्याङ, जमुना, माबु र गोर्खेमा खेती हुने भार्लाङ्गे पनि प्रतिरोपनी ४५ किलोसम्म उत्पादन हुने विज्ञले बताए।

पूर्वी पहाडमा वि.सं १८५० देखि खेती थालिएको गोलसाई जातको अलैंची समुद्री सतहदेखि १ हजार २०० देखि १ हजार ६०० मिटर उचाइसम्म खेती हुने र प्रतिरोपनी ३५ किलो उत्पादन हुन्छ। 

किसानले धेरै रुचाएका अलैंचीको जात डम्बरसाई हो जुन १७० वर्षअघि शुरु गरिएको मानिएको छ। प्रतिरोपनी ३५ किलोका दरले उत्पादन हुने डम्बरसाई जातको अलैंची ६०० देखि १ हजार २०० मिटर उचाइभित्र खेती हुने गरेको विज्ञ बताउँछन्।

खुसी छैनन् किसान 

महँगोमा विरुवा किनेर रोपेका किसान पानीको अभावमा बोट मर्ने, रोग लाग्ने समस्याले वर्षेनि उत्पादनमा आएको गिरावटका कारण मूल्य बढ्दा पनि खुसी हुन सकेका छैनन्।

विज्ञका अनुसार अलैंचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ। त्यो समयमा पानी नपर्दा बोट मरेर कतिपय किसानका बगैँचा सुक्ने गरेका छन्। जलवायु परिवर्तन, युवा पलायन र अलैंचीमा राज्यको लगानी अत्यन्तै कम, अनुसन्धानमा बेवास्ता गरिएका कारण सम्भावना हुँदाहुँदै पनि उत्पादन बढाउन नसकिएको ढुंगाना बताउँछन्। सिँचाइसँगै अलैंचीलाई बुझेका प्रविधिको अभावका कारण यसको पर्याप्त सम्भावना भएका ठाउँको पनि पहिचान हुन सकेका छैनन्। 

‘अलैंचीका बोट रोगले ग्रस्त छन् तर नियन्त्रण हुन सकेको छैन’, ढुंगानाले भने, ‘राम्रोसँग सबै पक्ष लाग्ने हो भने नेपालमा वर्षेनि २५ हजार मेट्रिक टन अलैंची उत्पादन गर्न सकिन्छ, जसले राज्यको अर्थतन्त्रमै अरबौँका प्रभाव पार्न सक्छ तर यसमा बेवास्ता गरिएको छ।’

अलैंची घरेलु औषधि

नेपाल, भारत र भुटान विश्वका अत्यधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुकमा पर्छन्। श्रीलङ्का, मलेसिया र चीनमा पनि अलैंचीको खेती गरिन्छ भने विभिन्न प्रजातिका अलैंचीहरू पश्चिमी अफ्रिकामा पनि पाइने बताइन्छ। अलैंचीलाई मसला तथा घरेलु औषधिको रूपमा पनि प्रयोग गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.