काठमाडौँ : कम विद्यार्थी, कमै शिक्षक। पठनपाठन पनि कमै। गुणस्तरीय शिक्षा नभएपछि अभिभावकहरू छोराछोरी पढाउन सहर छिरे। २०७९ अघिसम्म यस्तै दयनीय अवस्थामा रहेको विद्यालय थियो– कृष्ण आधारभूत विद्यालय।
तर गाभिने अवस्थामै पुगेको दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा-१० को विद्यालय शिक्षाविद् डा.मीनबहादुर शाहीले सञ्चालनको जिम्मा लिने निर्णय गरे। किनभने शिक्षा सरोकार केन्द्रले २०६२ सालदेखि नै कृष्ण विद्यालयमा पूर्वाधार र शिक्षण सिकाइ सुधारका काम गर्दै आएको थियो। मीनबहादुर सोही केन्द्रका कार्यकारी निर्देशक हुन्।
उनले गाभिने अवस्थामा पुगेको कृष्ण आधारभूत विद्यालय अहिले नमूना विद्यालय बनाएका छन्। ‘मैले त्यो स्कुलमा २०६० सालबाट नै सहयोग गर्दै आएका थिएँ’‚ उनी भन्छन्, ‘तथापि २०८० मंसिरमा सरकारबाटै मलाई हस्तान्तरण भएको हो। यसअघिसम्म राम्रो पठनपाठन नभएर कम विद्यार्थी भए र गाभिने अवस्थामा पुगिसकेको थियो तर मैले जिम्मा लिएपछि नमूना विद्यालय बनाउन लागिपरेँ, पूर्वाधार निर्माण गरेँ र मैले देखेको सपना पूरा भयो।’
उनले जिम्मा पाइसकेपछि उराठलाग्दो विद्यालय भवन संरचना चिरिच्याँट्ट बनाए। रंगरोगन गरे। घेराबार बनाए। दिवा खाजाका लागि अस्थायी टहरा बनाए। फर्निचर जोडे। कक्षा कोठामा व्यक्तिगत र्याक‚ ट्रे र सेतोपाटीको व्यवस्था गरे। त्यसो त कुनै वेला जंगलमा परिणत हुन लागेको विद्यालय, अहिले थपिएको सौन्दर्यले देख्ने जोकोही प्रशंसा गर्छन्।
दक्ष शिक्षक, कर्मचारी व्यवस्थापन र नमूना विद्यालयको रूपमा उभ्याएपछि कुनै वेला ७० जना विद्यार्थी रहेको विद्यालयमा अहिले १५९ जना विद्यार्थी अध्ययनरत छन्।
यही संघर्षका खुसी शाहीले आज(शुक्रबार) शिक्षा सरोकार केन्द्रको वार्षिक बैठकमा सुनाए। ‘पहिला ७० जना विद्यार्थी र ३ जना मात्रै शिक्षक भएको विद्यालयमा अहिले भर्ना गर्नै चाप छ। २०८१ को शैक्षिक सत्रमा टाढाटाढाबाट विद्यार्थी भर्ना हुन आउनु भएको थियो तर कक्षा कोठाको क्षमता र संस्थाको नियमानुसार सबैलाई भर्ना लिन सकिएन, ७३ जना विद्यार्थी दुःखी हुँदै फर्किनु पर्याे’, उनले सुनाए।
उनका अनुसार पहिला इसिडीदेखि कक्षा ५ सम्म कक्षा सञ्चालन थियो भने अहिले ७ सम्म पठनपाठन भइरहेको छ।
शिक्षक र कर्मचारी नगरपालिकालाई फिर्ता
आग्रहअनुसार दुल्लू नगरपालिकाले सबै शिक्षक र कर्मचारी २०८० मंसिरबाटै फिर्ता लिइसकेको छ। त्यसैले अहिले स्थानीय समुदायमा भएका बेरोजगार युवायुवतीलाई रोजगार दिने र समग्र दिगो विकासको उद्देश्यका साथ समुदायबाट १६ जना शिक्षक सहजकर्ता र कर्मचारी नियुक्त गरिएको छ।
शिक्षाविद् डा.मीनबहादुर शाही
आवश्यक सबै तालिम दिएर उनीहरूले अहिले अध्यापन गराइरहेका छन्। यसको सबै खर्च जिम्मा शिक्षा सरोकार केन्द्र अर्थात् शाहीले नै लिएका छन्। उक्त सञ्चालनको लागि अमेरिकाका ‘जेनी कार्जर’ले आर्थिक सहयोग गरिरहेका छन्। त्यसैले उनलाई उक्त केन्द्रको को-फाउण्डरमा राखिएको छ।
‘उहाँले यसरी सहयोग नगरेको भए सायद मैले देखेको, परिकल्पना गरेको विद्यालय बन्दैन थियो होला तर उहाँको यो सहयोगले आज यो अवस्थामा आइपुगेका छौँ। त्यसैले उहाँलगायत सबै मेरो टिमप्रति धेरै आभारी छु, अहिले विद्यालयका विद्यार्थी र समुदायका लागि एउटा आशाको केन्द्र बनेको छ भने कर्मचारीका लागि प्रमुख आयस्रोत बनेको छ’, उनले भने।
उनका अनुसार विद्यालय संरचना बनाउने लगायत सबै कार्य गर्दा एक करोड १२ लाखभन्दा बढी खर्च भइसकेको छ।
पाठ्यक्रम समीक्षा र थप पाठ्यक्रम निर्माण
कृष्ण आधारभूत विद्यालयमा पाठ्यक्रमको समीक्षा भएको छ भने थप निर्माणको काम पनि भएको छ। ‘सरकारले उपलब्ध गराउने र कार्यान्वयन गर्न पर्ने पाठ्यक्रम र पाठ्यपुस्तकको अध्ययन गरेर पूरक पाठ्यक्रम बनाउने काम भएको छ’, शाहीले भने, ‘विद्यालयमा स्टिम कार्यक्रम सञ्चालन, पुस्तकालय सञ्चालन, समस्यामा परेका विद्यार्थी र अभिभावकहरूलाई सहयोग, विश्वविद्यालय र कलेजसँग सम्झौता लगायत काम भएको छ।’
उनी इच्छा शक्तिले चाह्यो भने यसैगरी सार्वजनिक शिक्षा सुधार गर्न सकिने बताउँछन्। ‘हामी बाहिर बोलेर मात्रै होइन गरेर पनि देखाउनुपर्छ, हामी सबै लाग्यौँ भने साँच्चै गुणस्तरीयसँगै व्यावहारिक शिक्षा दिन सक्छौँ, अहिले पेटभरी खानाखाजासँगै राम्रो शिक्षा दिइरहेका छौँ, पढाइको स्तर राम्रो भएको छ’, उनले भने।
जिम्मा लिएको उक्त सामुदायिक विद्यालयलाई अझै गुणस्तरीय बनाउने उनको योजना छ। ‘मेरो सपना भनेको सार्वजनिक विद्यालय निजीभन्दा पनि अब्बल बन्नुपर्छ र बनाउनुपर्छ भन्ने हो। व्यावहारिक शिक्षा दिनुपर्छ, भएका कमीकमजोरी सुधार्दै शिक्षामा परिवर्तन गर्नुपर्छ’, उनले भने।
पहिलाका विद्यालयको दुरवस्था र नमुना विद्यालयमा परिणत गर्दै गर्दा भएका काम, क्रियाकलापका तस्वीर पनि कार्यक्रम हलमा सजाइएको थियो। त्यही तस्वीरलाई नियाल्दै कार्यक्रमका प्रमुख अथितिसमेत रहेका मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले व्यक्तिले चाहेमा शिक्षामा परिवर्तन ल्याउन सकिने उदाहरण मिलेको सुनाए।
उनी भन्छन्, ‘अहिलेको शिक्षा भ्रातृ संगठनमा भएका विश्वविद्यालयमा प्राध्यापकहरू र शिक्षकहरुले गर्दा ध्वस्त भएको हो, जहाँ आमूल परिवर्तन गर्ने नेतृत्व मिल्दैन तबसम्म शिक्षामा परिवर्तन हुँदैन तर डा.मीनबहादुरजस्तो भए पक्कै शिक्षामा परिवर्तन सम्भव छ, उहाँ शिक्षामा परिवर्तन गर्ने एक उदाहरणीय व्यक्ति हुनुहुन्छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।