पोखराको हावा पनि निकै अस्वस्थ

|

काठमाडौँ : पानी नपरेपछि हिउँदे खडेरीको सम्भावनासँगै काठमाडौँ उपत्यकालगायतका सहरहरूमा प्रदूषण बढेको छ। 

वायुको गुणस्तर मापन गर्दै आएका वातावरण विभागका केही स्टेशनहरूमा प्रदूषणको मात्रा मानव स्वास्थ्यका लागि निकै अस्वस्थस्तरसम्म पुगेका देखिएको छ। 

कुन सहर कति प्रदूषित

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले वास्तविक समयमा तथ्यांक (रियल टाइम डाटा ) दिने दुई दर्जन बढी  वायु गुणस्तर मापन केन्द्रहरूबाट हावाको गुणस्तर मापन गर्दै आएको छ। ती केन्द्रहरूमा रहेका उपकरणले हावामा रहेका धुलोका सूक्ष्म कण पी एम १, पी एम २.५, पी एम १० र टी एस पी मापन गर्छ।

पोखरा देशको सबैभन्दा प्रदूषित शहरका रुपमा देखिएको छ। वायु गुणस्तर निगरानीअन्तर्गत पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुललाई आधार मानेर वायु गुणस्तर मापन गरिन्छ। 

समाचार तयार पार्दासम्म त्यहाँको एक्यूआई २९० पुगेको छ, जसलाई अवस्थालाई निक्कै अस्वस्थ मानिन्छ। यस्तैगरी मानव स्वास्थ्यमा सबैभन्दा बढी असर गर्ने वायुमण्डलमा पाइने  प्रदूषणका सूक्ष्म कण अर्थात् फाइन पार्टिकुलेट म्याटर (पिएम २.५) १४८.३७५ माइक्रो ग्राम प्रतिघनमिटर रहेको छ।

विश्व स्वास्थ्य संगठनले पीएम २.५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रतिघनमिटर हुनुपर्ने भनेको छ। पीएम २.५ सजिलै फोक्सोमा पुग्ने र रक्त प्रवाहमा मिसिन सक्ने भएकाले यसले श्वासप्रश्वास तथा हृदयसम्बन्धी र अन्य विभिन्न दीर्घरोग उत्पन्न गराउने चिकित्सकहरू बताउँछन्। 

यस्तैगरी धनगढी (एमक्यूआई १९३), भक्तपुर (एमक्यूआई १६२), मकवानपुरको हेटौँडा (एमक्यूआई १७६), चितवनको भरतपुर (एमक्यूआई १७३), ललितपुरको भैँसेपाटी (एमक्यूआई १७२), खुमलटार (एमक्यूआई १६४), काठमाडौँको शंखपार्क (एमक्यूआई १६२) रहेको छ।

यी स्टेशनहरुले मापन गरेका एक्यूआइ मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको विभागले जनाएको छ। धुलिखेलमा पनि हावा स्वस्थ छैन। धुलिखेल र इलामको वायुको गुणस्तर संवेदनशील समूहका लागि अस्वस्थ रहेकाले सचेत रहन भनिएको छ। 

काठमाडौँ संसारकै दोस्रो प्रदूषित सहर 

संसारभरको वायुको गुणस्तर मापन गर्ने आईक्यू एअर क्वालिटी इन्डेक्स (वायुको गुणस्तर सूचकांक) मा नेपालको काठमाडौँ संसारकै सबैभन्दा प्रदूषित शहरको दोस्रो स्थानमा छ। 

यो समाचार तयार पार्दासम्म काठमाडौँमा वायुको गुणस्तर (एक्यूआई प्लस) १६३ रहेको छ, जुनलाई मानव स्वास्थ्यका दृष्टिकोणले अस्वस्थस्तरमा पुगेको मानिन्छ। यसअघि गत बिहीवार दिउँसो काठमाडौँको वायुको गुणस्तर १९६ एक्यूआई मापन गरिएको थियो।

काठमाडौँको हावामा मुख्य प्रदूषक (पीएम २.५) ७३ माइक्रो ग्राम प्रतिघनमिटर रहेको छ। पिएम २.५ का कारण वर्षेनी संसारभरमा लाखौँ मानिसको ज्यान जाने गरेको छ। 

संसारभरमा इरानको तेहरान सबैभन्दा प्रदूषित सहरको सूचिमा पहिलो स्थानमा छ। म्यानमार (एक्यूआई १६१) तेस्रो, बहराइनको मानामा (एक्यूआई १६०) चौथो, भियतनामको हनोई (एक्यूआई १६०) पाँचौ स्थानमा छ। 

किन बढ्यो प्रदूषण?

वातावरणविद्‍ भूषण तुलाधर सामान्यतया जाडो मौसममा प्रदूषण बढ्ने गरेको बताउँछन्। पानी कम परेसँगै सुक्खापन र डढेलोका घटना बढेको छ।

डढेलोको धूवाँसँगै जाडो छल्न मान्छेहरूले ताप्न बाल्ने आगो, कृषिजन्य अवशेषहरू जलाउँदा, केही इँटाभट्टाबाट समेत निस्कने धूवाँका कारण पनि प्रदूषण बढेको उनले बताए। 

‘अझै पनि दुई/तीन महिना प्रदूषण बढ्छ, पानी नपर्दा प्राकृतिकरूपमा फ्लस हुन सकेन,  डढेलोको सम्भावना बढाइदिएको छ, धूलो उडेर हावामा मिसिएको छ, चैत वैशाखमा झन् डढेलो धेरै लाग्ने हुँदा स्वास्थ्यप्रति थप सजग हुनुपर्छ’, वातावरणविद्‍ तुलाधरले भने। 

पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण सुक्खा मौसममा पानी नपर्ने क्रम बढ्दै गइरहेको छ। ‘जलवायु परिवर्तनको असरसँगै मानवीय कारणले पनि वायु प्रदूषणमा प्रमुख भूमिका खेलेको छ’, उनले थपे। 

विशेष सावधानी अपनाउन जरुरी

वातावरण विभागले जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको भन्दै उद्योग कलकारखाना र सवारीसाधनबाट निष्कासन हुने धूवाँ, वन डढेलो, खुलारूपमा फोहोर तथा कृषि जन्य अवशेष जलाउने, घरबाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यबाट उड्ने धूलोका कारण प्रदूषण हुने गरेको उल्लेख गरेको छ। 

विभागका अनुसार वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) ०–५० लाई मात्रै राम्रो  मानिन्छ। एक्यूआइ ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वास प्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउन विभागले अनुरोध समेत गर्दै आएको छ। 

विभागले यसअघि नै सूचना जारी गर्दै वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरण गर्न ठोस तथा प्लाष्टिक जन्य फोहोर तथा कृषि जन्य अवशेषहरू नजलाउन, सवारी साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सा हरूमा स्वच्छ उर्जाको प्रयोग गर्न,सडक तथा निर्माण कार्य हरूबाट उड्ने धूवाँ धूलोका यथोचित नियन्त्रण गर्न अनुरोध गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.