काठमाडौँ : काठमाडौँको कमलपोखरीस्थित एक मःम पसलमा ग्याँस चुहिएर भएको आगलागीमा परी घाइते भएका मध्ये अर्का एक जनाको पनि आज मृत्यु भएको छ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौँ महानगरपालिका–२८ कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको आज उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले थाहाखबरलाई जानकारी दिए।
उनका अनुसार तामाङको अपराह्न कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
गत बिहीवार कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस चुहिएर आगलागी हुँदा ११ जना घाइते भएका थिए। अहिले आठ जनाको सोही अस्पतालमा उपचार जारी छ।
यसअघि सोमबार मकवानपुरको मनहरि गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगर (नवीन) को उपचारका क्रममा निधन भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।