काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाका रिक्त संसदीय समितिका सभापति चयन गर्न शनिबार निर्वाचन प्रक्रिया शुरु हुँदैछ। मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीबीचको विवादले दुई पटकसम्म स्थगित भएको प्रक्रिया शुरु भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सार्वजनिक कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन, दाबी विरोध, मतदाताको अन्तिम नामावली प्रकाशन र सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावसहित उम्मेदवारी दिने समय तोकिएको छ। भोलि बिहान १० बजेदेखि ११ बजेसम्म उम्मेदवारविरुद्ध दाबी विरोधको समय तोकिएको छ । १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बसेर सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि कारबाही अघि बढ्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। आइतबार नै परिणाम घोषणा गरिनेछ।
हाल सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र विशेषाधिकार समिति सभापतिविहीन छन् । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा भने कांग्रेसकै दिवानसिंह विष्ट सभापति छन् ।
पुसमा भएको भागवण्डाअनुसार कांग्रेस, एमाले र नागरिक उन्मुक्तिले एकरएक समितिको नेतृत्व गर्नेछन्। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले लेखा समिति सभापति पाउनेछ।
नेपाली कांग्रेले विशेषाधिकार समिति सभापतिमा तुलसी देवकोटा, एमालेले सामाजिक विकास समितिको सभापतिमा धर्मराज पाठक, नागरिक उन्मुक्तिले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति सभापतिमा घनश्याम चौधरी र माओवादीले सार्वजनिक लेखा समिति सभापतिमा अक्कलबहादुर रावललाई अघि सारेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।