|

काठमाडौँ : नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्।

शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा डा. रिजालले समावेशितालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका हुन्। उनले कुनै पनि पार्टीको बहुमतबिना राजनीतिक स्थायित्व र उत्तरदायित्वको कल्पना गर्न नसकिने बताए।

निर्वाचन प्रणालीकै कारण ७४ को निर्वाचनमा नेपाली काँग्रेसले ३३ प्रतिशत मत पाए पनि जम्मा २३  सिट जितेको जिकिर गरे। उनले ७८ को निर्वाचनमा २६ प्रतिशत मत पाए पनि गठबन्धन गरेको कारण प्रत्यक्षमा ५७ सिट जितेको तर्क गरे।

रिजालले भने, ‘कुनै पनि पार्टीको बहुमतबिना स्थायित्व र उत्तरदायित्व कल्पना गर्न सकिँदैन। त्यसैले निर्वाचन प्रणाली के हुनुपर्‍यो भने ७४ को चुनावमा हामीले प्रत्यक्षमा गठबन्धनका कारण पाएको मत सबै आफ्नो भन्न मिलेन। समानुपातिकमा हामीले ३३ प्रतिशतभन्दा बढी मत पायौँ तर प्रत्यक्षमा हामीले २३ सिट जित्यौँ। अहिले हाम्रो सात प्रतिशतले मत घटेको छ। २६ प्रतिशत मत छ, ५७ सिट जित्यो, किन ? गठबन्धन गरेर। ओली र हाम्रो ७४ को चुनावमा मुस्किलले आधी प्रतिशतको फरक थियो। उहाँले ८० सिट र हामीले २३ सिट जित्यौँ किन भन्दा उहाँले गठबन्धन गर्नुभएको थियो।’

२०१५ सालदेखि कुनैपनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत नल्याएको भन्दै बढी मत आएन भन्दैमा स्थिरता हुँदैन भन्ने तर्क गर्न नहुने बताए। उनले १६५ निर्वाचन क्षेत्र कायम गर्दा ६० सिट समानुपातिक प्रणालीका लागि छुट्याउनुपर्नेमा जोड दिए। उनले सजिलै निर्वाचन जितेर आउनेलाई समानुपातिकमा ल्याउन नहुने बताए। उनले निर्वाचन जित्न कठिन हुने समुदायलाई संसद्‌मा आउने बाटोका लागि पनि समानुपातिक प्रणाली आवश्यक भएको तर्क गरे।

नेता डा. रिजालले २०७२ देखि तीन नेता पालैसँग प्रधानमन्त्री भएर तीन नेता एउटा पार्टी र बाँकी अर्को पार्टी जस्तो भएको व्यङ्ग्य गरे। उनले यस्तो अवस्था आउनुमा को जिम्मेवार छ भन्ने टुङ्गो लगाउन पनि निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.