काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताएका छन्।
काठमाडौँमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले दुई तिहाइ बहुमत पाएका वेला भूमिसुधार गर्न सकिने आधार रहे पनि त्यसतर्फ जान नसकेको बताए। उनले वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गरे।
उनले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताए। उनले किसानले बजार नपाउने समस्या अन्त्य गर्न जरुरी रहेको बताए। उनले देश संकटोन्मुख रहेको चर्चा गरे। सम्मानित नेता खनालले भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार गर्नै नपर्ने र गर्नै मन नलाग्ने किसिमको समाजवाद निर्माण गर्न जरुरी रहेको बताए। उनले समाजका विकार र विकृति हटाउँदै जानुपर्नेमा जोड दिए।
सम्मानित नेता खनालले भने, ‘हामीले दुई तिहाइ बहुमत पाएका वेला वैज्ञानिक भूमिसुधार गर्न सक्थ्यौँ। अब अहिले हेर्नुस् त ब्रह्मलुट मचाउने अध्यादेश ल्याएको छ। यो ब्रह्मलुटको अध्यादेश हो। यस प्रकारका काम गर्न पुगिरहेका छौँ। हामी कृषि क्रान्ति गर्न सक्दैनौँ‚ कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनौँ।’
उनले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताए। समाजवादको जामा लगाउनेहरू समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।