|

काठमाडौँ : रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका विरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ।

गत माघ १० गते सरकारी अस्पतालमार्फत यस्तो सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णय गरेका थिए।

निकै महँगो औषधि अवश्यक पर्ने रोगको उपचारका लागि धेरै विरामी तथा सरोकारवालाले सरकारलाई  व्यवस्थापन गर्न आग्रह गर्दै आएका थिए।

औषधि व्यवस्था विभागमा महासंघ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता शुक्रबार भएको हो।
 
अब महासंघबाट प्राप्त जटिल किसिमको वंशाणुगत तथा पछि समेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ।

मन्त्री पौडेलले राज्यकोषमा भार नपर्ने गरी विश्व हेमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट विरामीलाई उपलब्ध गराउने निर्णय गरेको उल्लेख गरेका थिए।

नेपालमा हाल करिब नौ सयजना यो रोगका विरामी भेटिएका छन्। विश्व स्वास्थ्य संगठनले नेपालमा पहिचान हुन नसकेका यस्ता करिब ५ हजार विरामी रहेको अनुमान गरेको छ।

२०७८ को जनगणनामा २.२ प्रतिशतमा अपांगता देखिएका मध्ये ०.८ मा हेमोफिलिया भएको हुनसक्ने ठानिएको छ।

संघीय अस्पतालहरू सिभिल, वीर तथा कान्तिसँगै देशैभरका प्रादेशिक गरी १२ अस्पतालमार्फत औषधि उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। यसका लागि ती अस्पतालका स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने मन्त्रालयको तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.