काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा एक सांसदले सोधेको प्रश्नको जवाफ दिएनन्। सांसद प्रभु साहले सोधेको प्रश्नमा प्रधानमन्त्रीले उल्टै आक्रोशित हुँदै प्रतिप्रश्न गरे।
आइतबारको प्रतिनिधिसभामा १० सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। अन्तिममा साहले ७० लाखभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा रहेको तथ्यांक पेस गर्दै देशबाट पलायन भइरहेका उनीहरूलाई रोक्न नसकेको, दुईतिहाइको सरकार भए पनि अध्यादेश पास गर्न हम्मे परेको, विकास निर्माणका काम अस्तव्यस्त रहेको लगायतका विषयमा प्रश्न गरेका थिए।
तर प्रधानमन्त्रीले त्यसको जवाफ दिनुको साटो उल्टै प्रतिप्रश्न गरे। ‘उहाँ (प्रभु साह)का प्रश्नहरू उहाँका भावनामा रहेका विरोध घृणा, आक्रोश र अपमानजनकसमेत छन्’, आक्रोशित हुँदै उनले भने, ‘संसद् जस्तो गरिमामय ठाउँमा यस्तो भाषा के हो? विदेश युवा पठाएर, के म मेनपावर कम्पनीको मान्छे हुँ? तपाईँले भनेको ७० लाख युवा यो सरकार बनेपछि ७/८ महिनामा गएका हुन्?’
त्यसपछि जुरुक्क उठेर सांसद साहले पूरक प्रश्न गर्न खोजे। तर सभामुख देवराज घिमिरेले उनलाई रोके। सभामुखले पनि चर्कै स्वरमा अगाडि नै आफूले प्रधानमन्त्रीसँग सवालजवाफ नहुने कुरा स्मरण गराए। त्यसपछि साहले आशनग्रहण गरे।
प्रधानमन्त्री ओलीले जवाफलाई निरन्तरता दिँदै प्रश्नसँगै जवाफ पनि रहेको भन्दै थप प्रश्न पार्न आवश्यक नरहेको बताए। ‘माननीयजीले गर्नुभएको प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन। सबैको उत्तर आफैले बोकेर आउनुभएको छ प्रश्नमा। त्यसकारण मैले खासै उत्तर दिइरनु परेन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।