काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयमा छानबिन गर्न छानबिन समिति गठन गरिएको बताएका छन्।
आइतवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन्। उनले समितिलाई घटनाको अनुसन्धान गरी प्रतिवेदन पठाउने र अगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव दिने कार्यादेश दिइएको बताए।
उनले घटनाको सत्यतथ्य छानबिन गर्न सकियोस् भनेर प्रमुख जिल्ला अधिकारी संयोजक रहनेगरी जिल्लास्तरीय सुरक्षा निकायका प्रमुखलाई सदस्यको रुपमा राखेको बताए।
‘पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा भएको बेलुन विस्फोटको घटनामा घाइते हुनुभएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको सन्दर्भमा गृह मन्त्रालयले एउटा छानबिन समिति बनाएको छ। समितिलाई दुईवटा कार्यादेश दिइएको छ‚’ उनले भने, ‘पहिलो पोखरामा भएको घटना के कसरी भयो त्यसको बारेमा छानबिन गरी त्यसको प्रतिवेदन दिने र अर्को, यस्ता घटनाहरु भविष्यमा नुहने कुरालाई कसरी सुनिश्चित गर्ने? के-के गर्दा यस्ता कुरा दोहोरिँदैनन् भनेर सुझावहरु दिने भनेर एउटा छानबिन समिति बनाइएको छ।’
समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप-अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्यसचिव रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।