रौतहट : सामाजिक सञ्जालमा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व खानेपानीमन्त्री अब्दुल खानको हातहतियारसहितको तस्वीर भाइरल भएपछि तीव्र आलोचना शुरु भएको छ।
उक्त तस्वीरमा अब्दुल खान तथा रौतहट जिल्ला इन्चार्ज शेख जमशेदबीच दुईजना व्यक्ति हातहतियार बोकेर उभिएको देखिन्छ। शेख जमशेदले सामाजिक सञ्जाल फेसबुकमा उक्त तस्वीर राखेपछि तीव्र आलोचना हुन थालेको हो।
नेपालमा सामाजिक सञ्जाल वा सार्वजनिक स्थानमा हातहतियार प्रदर्शन गर्न कानूनले निषेध गरेको छ तर सार्वजनिक पदमा बसेका नेताहरूले यसरी हतियार देखाएर के सन्देश दिन खोजेका हुन् भन्ने प्रश्न उठेको छ।
सर्वसाधारणलाई कानूनको कठघरामा उभ्याइने तर नेताहरुलाई उन्मुक्ति दिने परिपाटी दोहोरिन लागेको भन्दै सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि व्यक्त भएको छ।
यस विषयमा टिप्पणी गर्दै रौतहट जिल्ला इन्चार्ज शेख जमशेदले आफ्नो गल्ती स्वीकार गरेका छन्।
‘पार्टी उपाध्यक्षज्यू शुक्रवार गौर नगरपालिका–६ स्थित मेरो घर आउनु भएको थियो। त्यही क्रममा इजाजत प्राप्त हतियार देखेर घरकै कम्पाउन्डभित्र नै तस्वीर खिचिएको थियो‚’ उनले भने, ‘मैले नजानी सामाजिक सञ्जालमा राखेँ, जुन गल्ती भयो। यसलाई सकारात्मक रूपमा लिन अनुरोध गर्दछु।’
आलोचना बढ्दै गएपछि शेख जमशेदले उक्त तस्वीर फेसबुकबाट हटाएका छन् तर कानूनी शासन र राजनीतिक नैतिकताको विषयमा बहस पुनः सतहमा आएको छ।
सर्वसाधारणलाई कानून पालनामा कडाइ गर्ने तर नेताहरुले उन्मुक्ति पाउने स्थिति दोहोरिन नहुने भन्दै नागरिक समाजले सरकारको ध्यानाकर्षण गराएका छन्।
सार्वजनिक स्थान वा सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन गर्नेलाई कानूनी कारबाहीको प्रावधान रहे पनि यस घटनामा सरकारले कुनै कदम चाल्नेछ कि छैन भन्ने विषयमा जनचासो बढ्दो छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।