काठमाडौं : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य गर्ने कुनै पनि वार्तामा युरोप र किएभ हिस्सा हुने बताएका छन्।
शान्ति वार्तामा वार्तामा युरोप र युक्रेनलाई बाहिर राखिने विषय उजागर भइरहँदा अमेरिकी विदेश मन्त्रीले यस्तो बताएका हुन्।
सीबीएससँगको एक अन्तर्वार्तामा रुबियोले युद्ध अन्त्यको वार्ता अझै गम्भीरतापूर्वक सुरु नभएको जीकिर गर्दै वार्ता अघि बढेको खण्डमा युक्रेन र अन्य युरोपेली मुलुकलाई पनि समावेश गर्ने स्पष्ट पारे।
उनले यसै साता साउदी अरबमा हुने भनिएको वार्तामा युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन कति गम्भीर छन् भनेर हेर्ने मौकासमेत भएको बताए।
यस्तै, विदेशमन्त्री रुबियोले एक बैठक मात्र युद्ध अन्त्यका लागि पर्याप्त नहुने पनि स्पष्ट पारे।
वार्ताको औपचारिक प्रक्रिया सुरु गर्नका लागि युक्रेन, रुस र अन्य सम्बन्धित पक्षहरूसँग छलफल गरिने उनको भनाइ छ। हालै अमेरिकी राष्ट्रपति राष्ट्रपति डनल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका थिए।
जसमा दुवै पक्षले युद्ध अन्त्य गर्ने इच्छा व्यक्त गरेको ट्रम्पले बताएका थिए। ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले रुसी अधिकारीहरूसँग वार्ता गर्नुअघि साउदी अरबको भ्रमण गर्नेछन्।
इजरायल–हमास युद्धविराम वार्तामा पनि विटकफले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसैबीच, युक्रेनलाई वार्ताको लागि आमन्त्रित नगरिएको युक्रेनी सरकारी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। युक्रेनले वार्तामा सहभागी हुन आफ्ना प्रतिनिधि नपठाउने समेत स्रोतले बताएको बीबीसीले उल्लेख गरेको छ।
रुस युक्रेन युद्ध झण्डै तीन वर्षदेखि जारी छ। जसमा दुवै पक्षका थुप्रै नागरिकसहित सेनाले ज्यान गुमाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।