काठमाडौँ : बालबालिकामा हुने क्यान्सर रोगको उपचारमा प्रयोग गरिने औषधि नेपाल भित्रिन थालेको छ।
नेपालले ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’अन्तर्गत बालबालिकाको क्यान्सर उपचारका लागि नि:शुल्क दिइने औषधि आइतवार साँझ काठमाडौँ आइपुगेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पहिलो चरणमा १० प्रकारका औषधि ल्याइएको बताए। विभिन्न प्रकारको बाल क्यान्सर उपचारमा प्रयोग हुने दुई हजार तीन सयभन्दा बढी प्याक औषधि नेपाल आइपुगेको हो।
डेढ वर्ष अघि ग्लोबल इनिसिएटिभ फर चाइल्डहुड क्यान्सर (जिआइसिसी) विश्व स्वास्थ्य संगठन र अमेरिकास्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलसँगको सहयोगमा नेपालमा बालबालिकालाई क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने घोषणा गरिएको थियो। सोही अनुरुपको औषधि अहिले नेपाल आइपुगेको हो।
सरकारले गत मङ्सिर १ गतेबाट लागू हुने गरी चारवटा अस्पतालबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने घोषणा पनि गरिसकेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यी औषधिहरू नेपाल ल्याएर कसरी वितरण गर्ने र यसको प्रयोगका लागि स्वास्थ्यकर्मीहरूलाई दिनुपर्ने तालिमको सम्पूर्ण तयारी पूरा भइसकेपछि औषधि आइपुगेको जनाएको छ।
ती संस्थाहरूले बालबालिकामा हुने विभिन्न प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि सहयोगस्वरुप नेपाललाई निःशुल्क दिने घोषणा गरे पनि अहिले पहिलो चरणमा १० प्रकारको औषधि आइपुगेको र अन्य औषधीहरू विस्तारै आउने मन्त्रालयले जनाएको छ।
कसरी पायो नेपालले यी औषधि?
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को नेपालस्थित कार्यालयले ‘सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल’सँग समन्वय गरी नेपाललाई उक्त औषधि निःशुल्क उपलब्ध गराएको हो।
सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओको संयुक्त पहलमा संसारभरका क्यान्सरपीडित बालबालिकाको जीवनरक्षक औषधिमा पहुँच सुनिश्चित गर्न ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स सन् २०२१ मा स्थापना गरिएको हो।
सन् २०२० मा नेपाल विश्व स्वास्थ्य संगठनको ग्लोबल इनिसिएटिभ अफ चाइल्डहुड क्यान्सरको प्राथमिकतामा परेको थियो। सन् २०२२ मा नेपाल ग्लोबल प्लेटफर्ममा सहभागी हुन छनोट भएका विश्वभरका ६ देशमध्ये एक र विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रका सदस्य राष्ट्रमध्ये पनि एक मात्र राष्ट्र बन्यो।
त्यसपछि सन् २०२४ को मार्चमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा यो कार्यक्रम सञ्चालन गर्नका लागि विश्व स्वास्थ्य संगठनसँग सहमतिपत्रमा हस्ताक्षर गरेको थियो।
यस प्लाटफर्मको सदस्यका रूपमा अब नेपालले पाँच वर्षसम्म निरन्तर बालबालिकाको क्यान्सर उपचारका लागि प्रयोग हुने ३५ प्रकारका अत्यावश्यक गुणस्तरीय औषधिहरू प्राप्त गर्ने बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आएका यी ३५ प्रकारका औषधिहरू अहिले देशका चारवटा सरकारी अस्पतालमा उपचार गराइरहेका बालबालिकाहरूले प्राप्त गर्नेछन्।
भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १४ वर्ष मुनिका बालबालिकाहरुले यो औषधि पाउने छन्।
यता डब्लुएचओका नेपालस्थित कार्यालय प्रमुख डा. राजेश सम्भाजीराब पाण्डवले ग्लोबल प्लाटफर्मको सहयोगले नेपालका उक्त औषधि आइपुगेपछि क्यान्सर पीडित बालबालिकाको समग्र उपचार सेवालाई दीगोरूपमा सुधार गर्ने बताए।
नेपालका लागि युनिसेफका प्रतिनिधि डा. एलिस अंकुरले पनि नेपालले बालबालिकामा हुने क्यान्सर उपचार सुधार गर्न विभिन्न पहलमार्फत दृढ प्रतिबद्धता जनाएको र बाल क्यान्सरसम्बन्धी ऐतिहासिक धुलिखेल घोषण पनि समावेश भएको बताए।
नेपालमा क्यान्सर पीडित बालबालिकाहरूको बाँच्ने सम्भावना दर हाल ३० प्रतिशतभन्दा कम रहेको छ। जबकी उच्च आय भएका देशहरूमा यो दर ८० प्रतिशतभन्दा बढी छ।
सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा संसारभरका क्यान्सरपिडित बालबालिकाको जीवन रक्षक औषधिहरूमा पहुँच सुनिश्चित गर्न ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स सन् २०२१ मा स्थापना भएको हो।
यस ग्लोबल प्लाटफर्मले सन् २०२३ देखि २०२७ सम्म करिब एक लाख २० हजार बालबालिकालाई क्यान्सर उपचारका लागि गुणस्तरीय औषधि उपलब्ध गराउने लक्ष्य राखेको छ।
सेंट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलले यस कार्यक्रमलाई सहयोग गर्न पाँच वर्षसम्म २० करोड अमेरिकी डलर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
यता स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मंसिर १ गतेबाट लागू हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गराए। प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन्।
‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्द्धनका लागि पनि काम गरिरहेका छौँ', मन्त्री पौडेलले भनेका छन्, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था गरेका छौँ।’
मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्याउने काम भएको भन्दै यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको उल्लेख गरे।
बालरोग विशेषज्ञसमेत रहेका मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार ३५ प्रकारका औषधिमध्ये कतिपय नेपालमा हालसम्म प्रयोगमा नआएका महँगा औषधिहरू रहेको बताइएको छ।
हालसम्म नेपालमा प्रयोगमा नल्याइएको हुँदा औषधि व्यवस्था विभागबाट अनुमति लिएर तथा औषधिका लागि छुट्टै भण्डारण कक्ष निर्माणसमेत गरिएको थियो।
समयमै पहिचान गरेर उपचार गरेमा बालबालिका हुने रक्त क्यान्सर पूर्ण रूपमा सन्चो हुने भए पनि लामो समयसम्मको उपचार प्रक्रिया र आर्थिक भारका कारण नेपालमा धेरै अभिभावकले विरामी बालबालिकालाई पूर्ण उपचार गराउन सकेका छैनन्।
यस्तो अवस्थामा औषधि निःशुल्क दिन सके नेपालमा उपचार गराइरहेका क्यान्सरका विरामी बालबालिकामध्ये सन् २०३० सम्म ६० प्रतिशतलाई निको पार्ने सरकारको लक्ष्य सफल हुने डा. पौडेलले बताए।
नेपालमा वर्षेनि १ हजार ५ सयभन्दा बढी बालबालिका विभिन्न खालका क्यान्सरबाट ग्रस्त हुने गरेका छन्। तीमध्ये धेरैजसोमा रक्त क्यान्सर (ल्युकेमिया) हुने गरेको छ। सबै क्यान्सरमध्ये ४० देखि ४५ प्रतिशत ल्युकेमिया हुने गरेको पाइएको उनको भनाइ छ।
बालबालिकामा प्रायः हुने रक्त क्यान्सर समयमै पहिचान गरेर पूर्ण उपचार गरेमा ८० प्रतिशत पूर्ण सन्चो हुने भए पनि उपचार जटिल र महँगो हुने हुँदा रोग पहिचान भएपछि उपचार नै नहुने वा बीचैमा उपचार छाड्ने गरेको पाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।