हेटौँडा : हेटौँडा हुँदै बारातर्फ गएको गोरु बोकेको एउटा ट्रक पशु सेवा कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ।
२५ वटा गोरु बोकेको बागमती प्रदेश ०३–००१ ख १४२४ नम्बरको ट्रकलाई बाराको पथलैयाबाट नियन्त्रणमा लिइएको हो। हेटौँडा–१५ स्थित रातोमाटे चौकीमै नियन्त्रणमा लिने प्रयास असफल भएपछि कार्यालयको टोलीले पछ्याउँदै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए।
सोमबार दिउँसो कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै उनले प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरु सहितको ट्रक नियन्त्रणमा लिइएको बताए। सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरले बताए।
छानविनका क्रममा ती गोरु सलार्हीको नवलपुरमा लगेर २ दिन राख्ने र त्यसपश्चात् अर्को ट्रकमा हालेर बंगलादेश पठाउने योजना रहेको प्रमुख ठाकुरले जानकारी दिए।
लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर–१६ हेटौंडाको नाममा बिजक जारी गरिएको थियो। प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उनले बताए।
सो ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्कबापत २५ गोरुका लागि ३ हजार रुपैयाँ बुझाएको छ। उपमहानगरपालिकाले गाई गोरु ढुवानी बापत उक्त शुल्क प्रतिगोटा २ सय रुपैयाँ निर्धारण गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।