काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।
स्वास्थ्य बीमामा देखिएका विभिन्न जटिलतालाई सुधार गर्दै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे।
नेपाल औषधि थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमामा चुनौती देखिए पनि यसलाई हटाउनेभन्दा पनि सुधारोन्मुख बनाइने बताए।
मन्त्री पौडेलले समग्र उपचार प्रणालीलाई नै व्यवस्थित गर्न विद्युतीय प्रणालीलाई बलियो बनाउन मन्त्रालय लागिपरेको जानकारी दिए।
संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले थोक औषधि व्यवसायीले औषधिको खरिद, भण्डारण, वितरण गुणस्तरताको सुनिश्चितता, स्वास्थ्य सेवा प्रदायकलाई निरन्तर औषधि उपलब्ध गराउने, औषधिको मूल्य स्थिर र सन्तुलन कायम राख्न विशेष भूमिका निर्वाह गर्दै आइरहेको बताए।
उनले संशोधनको क्रममा रहेको औषधि ऐनमा औषधि थोक व्यवसायीको हितका कुरा समेटिनुपर्ने धारणा राखे।
संघको महाधिवेशनले गणेश नेपालको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ। पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष माधव अधिकारी, उपाध्यक्ष विनोद कार्की चयन भएका छन्।
यस्तै महासचिवमा राजेन्द्र थापा, सचिवमा गोपाल अधिकारी र कोषाध्यक्षमा दिपेश बस्याल चुनिए। सदस्यहरुमा सुनिल कुमार वैद्य, चन्द्रसिंह चौधरी, गौरब कार्की, निरजविक्रम राणा, रुद्रनारायण महल र सुरज श्रेष्ठ चयन भए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।