|

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको मंगलवारको बैकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन्। उनले सरकारले अबको दश वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकोले सोहीअनुरूप काम गरिरहेको बताए।

उनले आफूले मन्त्रालय सम्हालेयता १६ वटा जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमतिपत्र, ३३ वटा प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र, १६ वटा आयोजनाको जलविद्युत् निर्माण अनुमतिपत्र र ११ वटा प्रशारण लाइन निर्माणको अनुमतिपत्र दिइएको बताए। उनले १४ वटा सौर्य विद्युत् सर्वेक्षण अनुमति पत्र र २ वटा सौर्य विद्युत् निर्माण अनुमतिपत्र प्रदान गरेको समेत उल्लेख गरे। उनले अहिले ९५० मेगावाट भारत निर्यात गरिरहेको बताए।

उनले सर्वेक्षणका आधारमा अबको दश वर्षमा १३ हजार ५०० मेगावाट विद्युत् आन्तरिक खपत गर्ने र बाँकी रहेको विद्युत्‌का लागि समेत बजार सुनिश्चित भइसकेको दाबी गरे। 
मन्त्री खड्काले भने‚ ‘सरकारको निर्णयानुसार यो मन्त्रालयले १० वर्षको अवधिमा २८५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको छ। हामीले अहिले ३४०० मेगावाट विद्युत् उत्पादन गर्न सकेका छौँ। अबको दश वर्षमा थप २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम गरिराखेको व्यहोरा जानकारी गराउन चाहन्छु। यसमा आन्तरिक खपत १३ हजार ५०० मेगावाट हुने लक्ष्य राखिएको छ। दश वर्षको अवधिमा थप विद्युत् उत्पादन गर्नका लागि ६२ खर्ब बराबरको पुँजी परिचालन हुने अनुमान छ।’

उनले भारतसँग जोडिएका अन्तरदेशीय प्रशारण लाइन मर्मतको काम शुरु भइसकेको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.