सामान्यतया मुनाफाको उद्देश्य नराखी सरकार वा सरकारी निकायले नागिरकलाई दिने सेवा नै सार्वजनिक सेवा हो।यसमा बहुसंख्यक जनताको हितलाई ध्यानमा राखिन्छ। जसका लागि राज्यका विभिन्न अङ्गहरू क्रियशील रहेका हुन्छन्।
बेलायतको औद्योगिक क्रान्तिपश्चात सार्वजनिक सेवाको अवधारणाले ठाउँ पाएको हो।सार्वजनिक सेवालाई प्रभावकारी बनाउने उद्देश्यका साथ बेलायतका तत्कालीन प्रधानमन्त्री मार्गरेट थ्याचरले Next Step Agency र जोन मेजरले नागरिक बडापत्रको सुरुवात गरेका थिए।सार्वजनिक सेवा प्रवाहको मुख्य पात्र सरकार हो।
यस्तो सेवा प्रवाह संविधान एवं कानुनको परिधिभित्र रहेर प्रदान गरिन्छ। यसमा कसैको स्वेच्छाचारिता र मनोमालिन्यता स्वीकार हुँदैन।सार्वजनिक सेवाका रूपहरू मूलत: नियमित, आकास्मिक र विकासात्मक हुने गर्दछन्।सेवा प्रवाहको प्रभावकारिताका लागि संविधान, ऐन/कानुन, नियम/विनियम, कार्यविधि/मापदण्ड र निर्देशिकाहरू तर्जुमा गरिएको हुन्छ।
आध्यात्मिक चिन्तन अध्यात्म, धर्म, जीव, ब्रम्हा वा आत्मासँग सम्बन्धित विचारहरूको रूप हो।जसले मान्छेमा सत्विचारको उत्पति गराई सत्कर्मतर्फ अभिप्रेरित गर्दछ।यो जीवन र जगतप्रतिको गहिरो चिन्तन हो, दृष्टिकोण हो, दर्शन हो।
अध्यात्मले समस्त जीवन, जगत र ब्रम्हाण्डकै बारेमा उजागर गर्ने गर्दछ।अध्यात्म नै विज्ञानको जननी हो।अध्यात्मले मानिसको आत्मालाई चेतनशील बनाउँछ।मानिसको शरीर र शरीरको सुन्दरताले मात्र व्यक्तिको व्यक्तित्व बुझ्न सकिँदैन।व्यक्तिको शरीर त केवल मासु र हड्डीको थुप्रो मात्र हो।व्यक्तिको देह तब मात्र सुन्दर भएको, सक्षम भएका मान्न सकिन्छ जब चेतनशील आत्मा, आध्यात्मिक आत्मा उसको देहभित्र गडेको हुन्छ।
आत्मा शुद्ध भयो भने विचार शुद्ध आउँछ, विचार शुद्ध भएपश्चात कर्म शुद्ध हुन्छ तब मात्र देह शुद्ध भएको मान्न सकिन्छ।एक्लो सूर्यले पूर्ण लोकमा प्रकाश छरे जस्तै एउटा आत्माले पूर्ण देहमा प्रकाश छर्दछ।आत्माले कस्तो प्रकाश छर्दछ भन्ने कुरा ऊ कति शुद्ध र चेतनशील छ? भन्ने आधारमा तय हुने गर्दछ।
अध्यात्मले मानिसमा नैतिकताको विकास गराउँछ। व्यक्तिलाई नीतिवान बनाउँछ।योगसमेत अध्यात्मको एउटा पाटो हो। योगले शरीरलाई मनसँग र मनलाई मस्तिष्कसँग जोड्ने कार्य गर्दछ।कहिले-कहिले मन बहकाउने गर्दछ त्यस अवस्थामा मस्तिष्कले नियन्त्रण गर्नु पर्दछ र मस्तिष्कको विचलनमा मनले स्थिरता प्रदान गर्नुपर्दछ।
सार्वजनिक सेवा प्रवाह नागरिकहरूको सेवामा समर्पित पवित्र कार्य हो।यस्तो कार्य गर्न सरकारले विभिन्न ऐन, कानुन एवम् नीतिहरूको तर्जुमा गरेको हुन्छ।जसबाट सेवा प्रदायकले कसरी सेवा प्रवाह गर्ने र सेवाग्राहीले सो सेवा प्राप्त गर्न के-कस्ता प्रक्रियाहरू पूरा गर्नुपर्दछ भन्ने जस्ता कुराको जानकारी प्राप्त हुन्छ।
ऐन कानुनले बाध्यात्मक अवस्थाको सिर्जना गर्दछ यद्यपि सेवा प्रदायकमा नैतिकताको खडेरी पर्यो भने सेवा प्रवाह जस्तो पवित्र कार्यमा ग्रहण लाग्न सक्छ। तसर्थ ऐन कानुनका साथसाथै आजको सेवा प्रवाहमा आध्यात्मिक चिन्तनको प्रयोग हुनु उत्तिनै सान्दर्भिक छ।आध्यात्मिक चेतनाले सेवा प्रवाहमा रहेका पात्रहरूमा पाप र पुण्यको हेक्का गराउँछ।श्रीमद्भागवत्गीतामा भनीएको छ कुनै पनि फलको आशा नगरी कर्म गर।भागवत् गीताको एउटा महत्वपूर्ण श्लोक छ:
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भुया ते सङ्गोऽस्त्वकर्मणी।।
अर्थात् कर्ममा तिम्रो अधिकार छ तर फलमा तिम्रो अधिकार हुँदैन, फललाई कर्मको हेतु नबनाऊ तर अकर्ममा पनि तिम्रो लगाव नहोस्।सेवा प्रवाहमा यसै भनाइको प्रयोग गर्ने हो भने नागरिकहरू सन्तुष्ट हुने खालको सेवा प्रवाह गर्न सकिन्छ।
त्यसैले समकालीन सार्वजनिक सेवामा आध्यात्मिक चिन्तनको समेत बहस गर्नु आवश्यक छ।अध्यात्मले मानिसलाई आफ्नो कर्म प्रति सचेत गराउँछ।मेरो कर्म के हो? म कसका लागि कर्म गर्दै छु? मैले गरेको कर्मले कसलाई कस्तो प्रभाव पर्छ? मेरो कर्मको परिणाम के हुन सक्दछ? जस्ता प्रश्नहरूको जानकारी जब सेवा प्रदायकमा हुने गर्दछ, उसले प्रवाह गरेको सेवा सर्वोत्कृष्ट सेवा कहलाउँछ।
राज्यले नागरिकहरूलाई प्रवाह गर्ने सेवा नागरिकसमक्ष पुर्याउन विभिन्न निकायहरूको गठन गरेको हुन्छ। राज्यले तोकेको सेवा सुविधामा खुसी भएर नागरिक सेवा गर्ने प्रतिज्ञा गरी सेवामा छिरेका राजनीतिक र प्रशासनिक पात्रहरूमा सेवा प्रवेशपश्चात अतिरिक्त लाभको लोभ जागृत हुनाले सेवा भावको धर्ममा आँच आउने गर्दछ।मानिसमा अतिरिक्त लाभको लोभ जागृत हुँदा सेवा प्रवाहमा समस्या खडा हुन पुग्दछ।
महाभारतको अध्ययन गर्ने हो भने पाण्डवहरूलाई पराजय गराउँदै समस्त राज्य जितेर एकल रूपमा राज्य सञ्चालन गर्ने जुन अभिलाशा/लोभ कौरवहरूमा जागृत भयो यसले उनीहरूको चेतना नष्ट गर्यो र महाभारत युद्ध हुन पुग्यो। यो युद्धमा भगवान् श्रीकृष्ण सत्यको अथवा पाण्डवको पक्षमा हुनुहुन्थ्यो जसको परिणामस्वरूप कौरव पक्षको पराजय भयो र पाण्डव विजयी भए।
यसर्थ केही समय असत्यले राज गरे पनि जित अवश्य पनि सत्यकै हुन्छ।सत्य र असत्यको चेत आध्यात्मिक चिन्तनबाट खुल्छ।त्यसैले सार्वजनिक सेवा प्रवाहमा समेत यो नियमको पालना गर्नु आवश्यक छ।भन्नुको मतलव सार्वजनिक सेवा प्रवाह निश्वार्थ भावनाले गर्नुपर्दछ। जब सेवा प्रवाहमा लोभको भावना जागृत हुन्छ त्यसले सेवा प्रदायकको चेतना नष्ट गर्दछ। खण्डित, स्खलित वा कलंकित चेतनाद्वारा भरिएका हातहरूले प्रवाह गरिएको सेवाबाट न नागरिक खुसी हुन सक्दछन् न त स्वयं प्रदायकको मन नै आनन्दित हुन्छ।
समय परिवर्तशील छ र हुनु पनि पर्दछ। प्रविधिको विकासले आजको विश्वमा ठूलो फड्को मारेको छ।विश्व आज ए.आई.को युगमा फड्कीसकेको छ। आइसकेको छ।अथर्ववेदमा मानिसलाई भनिएको छ तिमी सिर्जनशील होऊ अन्यथा तिमी रसविहीन र सामर्थ्यविहीन बन्नेछौ।यही आध्यात्मिक चिन्तनको फलस्वरुप आज नवप्रवर्द्धनहरू भएका छन्।सार्वजनिक सेवा प्रवाहमा यो अछुतो रहने कुरा नै भएन। जसबाट सेवा प्रवाहमा छिटो छरितोपना, पारदर्शिता र निष्पक्षताको विकास भएको छ।
सामवेदमा भनिएअनुसार मिठो र मधुर वचनबाट कसैलाई पनि आफ्नो बनाउन सकिन्छ। त्यसैले यसको सम्बर्द्धन गर्नुपर्दछ। सार्वजनिक सेवा प्रवाहमा यो भनाइको स्थान उच्च छ।सेवाग्राहीहरू भगवान् हुन्, भगवानरूपी सेवाग्राहीप्रति भक्तरुपी सेवा प्रदायकले मधुर वचन बोल्नाले मात्र उनीहरू गुणी कहलाउँछन्।प्रक्रिया नपुगेको वा कागजात नपुगेको कुनै कार्य गर्न सेवाग्राहीहरू तपाईँको सामु उपस्थित हुँदा तपाईँको बोली वचन, तपाईँको प्रस्तुतिले कस्तो नतिजा निकाल्नु पर्ने हो निकाल्छ।
यदि मधुर वचन बोलेर उसलाई सम्झाउँदै कुरा गर्ने हो भने प्रक्रिया नपुगेका कारण काम नभएको बुझी आफ्नो काम नभए पनि ऊ खुसी भएर जान्छ। त्यही ठाउँमा तपाईँको कठोर वचन, झर्कोफर्को, हप्काई दप्काई भयो भने तपाईँका कटुवाणीहरूको उसले प्रतिकार गर्दछ र तपाईँप्रति उसले प्रतिशोधको भावना राख्दछ।
यसर्थ सेवा प्रवाहमा मृदुभाषीताको विकास आध्यात्मिक चिन्तनबाट सम्भव छ। यस सन्दर्भमा यजुर्वेदमा समेत उल्लेख गरीएको छ - अक्रन कर्म कर्मकृत: सह वाचा मयो भुवा - अर्थात कर्म गर्नेले शुभ वचनका साथ कर्म गर्दै रहोस्।
अन्तमा, मानिसमा प्रशस्त ज्ञान छ तर कर्म खराब छ भने त्यो औचित्यहीन हुन्छ। ज्ञान र कर्म हुँदै पवित्रतातर्फ पुगिन्छ र पवित्रताबाट नै शुद्धता आउँछ। अहङ्कार मनुष्यको शत्रु हो। अहङ्कारीले कहिल्यै पनि उचित सेवा प्रवाह गर्न सक्दैन किनकि उसको हृदय सरल हुँदैन।
रावणसमेत सर्वज्ञानी र सर्वशक्तिमान थिए तर अहङ्कारका कारण उनको अस्तित्व समाप्त भयो। तसर्थ राजनीति र प्रशासनले समेत यो कुरा मनन गर्नु आवश्यक छ। जसरी सूर्यले ब्रम्हाण्डमा समान रूपमा ऊर्जा फैल्याएको हुन्छ त्यसैगरी सेवा प्रदायकले पनि बिना भेदभाव समान रूपमा सेवा प्रवाह गर्नु पर्दछ जुन आध्यात्मिक चिन्तन र चेतनाबाट सम्भव छ।
लेखक नेपाल सरकारका लेखा अधिकृत हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।