|

कैलाली : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफ्नो दल जातीय अतिवादको पक्षमा नरहेको बताएका छन्।

पार्टी सम्वद्ध थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई मंगलबार टीकापुरमा सम्बोधन गर्दै पुनले सबै उत्पीडित, वर्ग, क्षेत्र, जाति र समुदायको राज्यमा बराबरी हक हुनुपर्छ भन्ने आफूहरूको नीतिका आधारमा सामन्ती एकाधिकारवादी र पुँजीपतिहरूले गलत आरोप लगाउने गरेको बताए ।

प्रचण्डको नेतृत्वमा उत्पीडित वर्ग, समुदाय तथा कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका जनतालाई एकताबद्ध गरेर मुलुकमा सामन्ती व्यवस्थाको पर्यायका रुपमा रहेको राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको पुनको भनाइ थियो ।

‘मजदुर, किसान, श्रमिक, महिला, दलित, जनजाति, मधेसी, थारू समुदाय, कर्णाली र सुदूरपश्चिमजस्ता पिछडिएका क्षेत्रका उत्पीडित जनतालाई संगठित र एकताबद्ध गरेर उनीहरूकै बलमा देशमा गणतन्त्र स्थापना भएको हो’ पुनले भने। तत्कालीन सामन्ती राजतन्त्रात्मक सत्ताले ‘फुटाउ र शासन गर’ को नीतिअन्तर्गत उत्पीडित समुदाय र वर्गलाई अलग अलग गरेर शासन टिकाएको तर, माओवादी जनयुद्धले उनीहरुलाई एकताबद्ध गरेपछि राजतन्त्र समाप्त भएको पुनले दाबी गरे ।

उनले अझै पनि आन्दोलनका उपलब्धिको रक्षा र थप उपलब्धिका लागि उत्पीडित वर्ग र समुदायबीच बलियो एकता जरुरी रहेको औंल्याए ।

जनयुद्ध र त्यसको जगमा भएको ०६२/०६३ को जनआन्दोलनबाट उत्पीडितहरुले प्राप्त गरेको अधिकारलाई नजरअन्दाज गर्ने र सबै थोक प्राप्त भइसक्यो भन्ने दुईथरी अतिवादी प्रवृत्ति सही नभएको उनको भनाइ थियो ।

‘उत्पीडित जाति, वर्ग र समुदायलाई केही पनि प्राप्त भएको छैन, हिजोकै अवस्था छ भनेर भड्काउन खोज्ने अति जातिवादी सोच र पुरै प्राप्त भयो भनेर समर्पण गराउन खोज्ने यथास्थितिवादी प्रवृत्ति दुवै सहतमा देखिने गरेको छ’, उनले भने, ‘तर, हाम्रो अतिवादी र जातिवादी दुवै सोचभन्दा फरक धारणा छ । हामी प्राप्त भएको उपलब्धिको स्वामित्व लिने र समाजवादी गणतन्त्रमार्फत थप अधिकार सम्पन्न बनाउने नीतिका साथ अघि बढेका छौं ।’

उनले जातीय अतिवाद र सत्ताधारीहरुको संकीर्णताविरुद्ध उत्पीडित समुदायलाई एकताबद्ध गर्नुपर्छ भन्ने मान्यता माओवादी केन्द्रको भएको पुनको प्रष्टीकरण थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.