काठमाडौँ : काठमाडौँ शहरवासीहरूले पहिला मेलम्ची खानेपानी कहिले आउँछ भन्दै प्रश्न गरिरहे। सरकारलाई दबाब दिइरहे। सरकारको चर्को आलोचना भयो। तर आयोजना सुरू भएको दुई दशकपछि मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा झरेपछि ‘प्यास’ मेट्नभन्दा पनि शहरवासीलाई ज्यानकै जोखिम बढेको छ।
पटक पटक मेलम्ची खानेपानीको पाइप फुटेकै कारण कतिपय घरधनीका घर, डेरामा बसेकाहरूको कोठा क्षति भएको छ। सडक नै पनि भासिने गरेको छ।
हिजो (मंगलवार) विहान थापाथली चोकनजिकै मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्यो। थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा पाइप फुट्दा सडक जलमग्न भयो। सडक अवरूद्ध भयो। सडकपेटीसँगै आसपासका पसलभित्र पानी पसेर क्षति भयो। पानीको चापका कारण फुटेको भनिएको छ।
त्यस्तै, गत माघ ३० गते बबरमहलमा मेलम्चीको पाइप फुट्दा सडकसँगै बबरमहल क्षेत्र जलमग्न/डुबान बन्यो। सरकारी सेवा प्रभावित बन्यो। कतिपय घरभित्र पानी पस्दा २ दिनसम्म सफाइ गर्न समय लाग्यो।
त्यसबेला भने नेपाल विद्युत् प्राधिकरणले विद्युतका तारहरू अण्डरग्राउण्ड गर्नका लागि ड्रिलिङ गर्ने क्रममा खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो। सम्बन्धित निकायले बेलैमा चुहावट भएको पाइप फुट्नसक्ने र सम्भावित पाइपको मर्मत नगरे यसैगरि अझै पनि पाइप फुटेर क्षति पुग्ने देखिन्छ।
किन बारम्बार फुट्छ पाइप ?
पूर्वाधारविज्ञ आशिष गजुरेल पछिल्लो समय महिनैपिच्छे यसरी मेलम्ची पानीको पाइप फुटेर समस्या निम्तिन थालेको बताउँछन्।
‘हिजो थापाथलीमा पाइप फुट्दा धेरै पसलहरू डुबानमा परे,’ उनले भने, ‘यो समस्या महिनैपिच्छे हुन थाल्यो, यसले गर्दा खर्च बढाउने, यातायातमा समस्या गर्ने, पसल डुबान र अन्य घरमा क्षति पुग्ने भयो।’ उनी यसरी बारम्बार मेलम्ची पाइप फुट्नुमा तीन कारण रहेको बताउँछन्।
‘पहिलो त खाल्डो सानो बनाइ सानो पाइप हालियो र घरको ३ तलासम्म पानी भरियोस् भनेर प्रेसरका साथ पानी पठाउँदा पाइप फुट्छ, पाइपको क्षमताभन्दा बढी पानीको प्रेसर हुनसाथ फुट्छ,’ उनले भने। उनका अनुसार अर्को कारण अर्थात् दोस्रोमा कमसल पाइप प्रयोग गर्दा फुट्ने समस्या हुन्छ।
‘तेस्रो कारणमा पाइपहरू राम्रोसँग जोइन नगर्नु, त्यसैले बारम्बार मेलम्ची पाइप फुट्छ। त्यसैले यस्ता कुरामा ध्यान दिनुपर्छ, दोहोरिनु हुँदैन, दोहोरिए अझै ठूलो क्षति पुग्छ,’ उनले भने।
के गर्दैछ केयूकेएल?
सन् २००१ मा शुरू भएको आयोजना २ दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते काठमाडौँ उपत्यकामा पानी वितरण थालिएको थियो तर २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि हालसम्म १२ महिना पानी आउन सकेको छैन।
२०७८ को बाढीयता कहिले वर्षात त कहिले मर्मतको नाममा पानी बन्द गरिँदै पठाइँदै गरिएको छ। सरकारले वर्षेनि आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने वेला पनि दीर्घकालीन रूपले पानी ल्याउने घोषणा गरे पनि हालसम्म त्यो घोषणामै सीमित बनेको छ। सरकारले यसअघिको वर्षातको समयमा पानी ल्याउने बताए पनि आउन सकेन।
अस्थायी रूपमा आएको पानी पनि उपत्यकाका विभिन्न ठाउँमा पानी चुहावट भइरहेको छ। कहिले पाइप नै फुट्छ। जोखिम अझै छ। यता, उपभोक्ताले भने पर्याप्त खानेपानीको उपभोग गर्न पाएका छैनन्।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाशकुमार राईले जहाँ पाइप लिकेज हुने सम्भावना देखिएका छन्, ती ठाउँहरूमा अध्ययन गरिरहेको जानकारी दिए।
उनले भने, ‘वेलावेला मेलम्चीको पाइप फुट्ने गरेको छ, हामीले अबदेखि यस्तो घटना नघटोस् भनेर अध्ययन गर्दै छौँ, केही फुट्ने वा पानी चुहिरहने अवस्था भए तत्कालै मर्मत गछौँ।’
विद्युत प्राधिकरणसँग समन्वय नहुँदा त्यसरी पाइप फुट्ने समस्या बढेको हो भन्ने प्रश्नमा उनले समन्वय भइरहेको बताए। ‘हामी प्राधिकरणसँग समन्वय त गर्छौ तर पनि कहिलेकाहीँ त्यस्तै घटना निम्तिन्छ,’ उनले भने।
मेलम्ची खानेपानी आयोजनामै कुनै पनि कमसल पाइप नहालिएको पनि उनको दावी छ। उनका अनुसार थापाथलीमा मङ्गलवार विहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।