काठमाडौं : नेकपा एमाले मोरङको अध्यक्षमा संस्थापन इतर पक्षीय अजम्बर राई विजयी भएका छन्। १०औँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार आएको अन्तिम मतगणनाअनुसार राई नेतृत्वको प्यानल नै निर्वाचित भएको हो।
अध्यक्षमा राई ४४६ मतसहित निर्वाचित हुँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत मात्रै प्राप्त गरेका छन्। उपाध्यक्षमा इतर समूहकै सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष बान्तवा र महिला सहसचिवमा उषा झा विजयी भएका छन्।
यही फागुन १७ गते उद्घाटन भएको जिल्ला अधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सर्वसम्मत गर्न निर्देशन दिएका थिए। जसअनुसार चार दिनसम्म प्रक्रिया अगाडि बढेको थिएन।
अन्तिममा सहमति नजुटेपछि भएको मतदानमा इतर समूहको प्यानल नै विजयी भएको हो। जसलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको बताइन्छ।
इतर पक्षको नेतृत्व पूर्वकेन्द्रीय सदस्य विनोद ढकालले गरेका थिए। उनी आफूलाई संस्थापन पक्ष भने तापनि पछिल्लो समय उनको निकटता छ। पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चाबीच उनी पक्षीय समूहले बाजी मारेपछि पुनः अध्यक्ष बन्ने दाउमा रहेका ओलीलाई भने झड्का लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।