चुलाचुलीबाट उदाएका मानहाङ

|

विराटनगर : कलामा विद्रोह हुन्छ ? भन्ने प्रश्नमा रङ्गकर्मी मानहाङ लावती सहजै स्विकार गर्दै भन्छन्,‘अवश्य हुन्छ नि।’

हुन त कलाकारभित्र गुम्सिएको, उकुसमुकु भएको विद्रोहको ज्वाला कला मार्फत नै विस्फोट हुन्छ भन्दा फरक नपर्दो हो। किनकी पछिल्लो समय मञ्चन भएका केही नाटकहरूबाट पनि यो पुष्टि गर्न सकिन्छ। खुवालुङ, जोखाना, मुक्कुम्लुङ चोत्लुङ अफ याक्थुङ लगायत विद्रोहको एउटा स्वरुप नै हो भन्नेमा लावती पनि प्रस्ट छन्।

पछिल्लो समय तत्कालीन १ नम्बर प्रदेशको नाम कोशी भएसँगै पहिचानसहितको पुनः नामकरणको माग राख्दै उठेको आन्दोलन देखि किरात सभ्यतासँग जोडिएको खुवालुङ फुटाउने राजनीतिक दलको योजना र पछिल्लो समय पाथिभरा/मुक्कुम्लुङमा केबलकार निर्माण हुनुहुँदैन भन्ने माग सहितको आन्दोलनले बल्ल कलाकार र कथाकारले कथा खोतल्न सुरु गरेको लावती तर्क राख्छन्।

 उनी आफै पनि पछिल्लो समय काठमाडौंमा मञ्चन भएको मुक्कुम्लुङ नाटक मार्फत ‘मुकुम्लुङ’ लिम्बू समुदयाका लागि किन महत्व छ ? भनेर दर्शकलाई देखाउने र सिक्ने अवसर पाएको बताउँछन्।

‘मुक्कुम्लुङ नाटक त्यहाँ आसपास गएर त्यहाँको जान्ने बुझ्नेहरूसँग भेटघाट गर्न नसक्नेहरूका लागि बुझ्ने माध्यम पनि भयो’, उनी सुनाउँछन्, ’यो कलाको माध्यमबाट उठेको आन्दोलन हो।’

 ‘मुक्कुम्लुङ’ नाटक हेर्नेहरूले लिम्बूहरूको शिर हो भन्ने सहज महसुस गर्ने बताउँदै उनले त्यहाँ मानव उत्पति देखिको कुरा जोडिएर आउँछ भन्ने विषय नाटकको माध्यमबाट बुझाउने अवसर पाएको सुनाउँछन्।

त्यसो त नाटक विद्रोह बोल्न सक्ने सशक्त माध्यम रहेको बताउँदै उनी भन्छन्,‘आन्दोलनका लागि रोडमा निक्लिएनौ होला तर पनि कलाको माध्यमबाट आन्दोलनमा नै छौँ।’

पछिल्लो समय पहिचानको आन्दोलनले पनि एउटा समुदायको कथा नाटक मार्फत आउन थालेको बताउँदै उनले जहाँ आस्थाको केन्द्र दमन हुँदै गयो त्यसपछि कथाहरू आउन थालेको बताउँछन्।

‘एउटा के पनि भयो भन्दा उहाँहरूले झिल्का निकाल्नुभयो हामीलाई आगो निकाल्न सजिलो भयो,’ उनले भने,‘ उहाँहरूले हाम्रो आस्था, संस्कृति,परिवेश र भुगोलको नाम नै फरक गर्दिन खोजेपछि हामी सचेत भयौँ। त्यो कारणले हाम्रो चेत खुल्यो। त्यसपछि हामीले हाम्रो गुम्न लागेको सबै कुराको संरक्षण गर्नुपर्छ। अब कलाको मध्यमबाट बुझाउनुपर्छ भन्ने विषय पहिचानको आन्दोलनको प्रभाव पनि हो जस्तो लाग्छ। ’

सोच मग्न हुँदै उनी पुनः कुरा थप्छन्,‘हिजोका दिनमा हामीले हाम्रो कथा भन्न पाएका थिएनौँ।  अब आउनुपर्छ हाम्रो मात्र होइन। सबैको कथा आउन पर्छ।’

बाल्यकालमा गायक बन्ने रहर मनको ग्यालरीमा सजाएर इलामको चुलाचुलीको कुनाकन्दराबाट उदाएका मानहाङ खुवालुङ, जोखाना, मुक्कुम्लुङ  जस्तो चर्चित नाटकमा आफ्नो अभिनयको माध्यमबाट दर्शकको मन तान्न सफल भएका छन्।

उनले जीवनको कुनै कालखण्डमा अभिनय गर्छु या नाटकमा भविष्य खोज्छु भन्ने कल्पना समेत गरेका थिएनन्। किनकी ८ वर्षको उमेर छँदा गायक दिपक लिम्बू पहिलो नेपाली तारा बन्दै गर्दा उनलाई पनि दिपक जस्तै गायक बन्नु थियो।

 त्यो समय मानहाङको मनमा एउटै प्रश्नले डेरा जमाएर बसेको थियो,‘गायक बन्न कहाँ जाने ? को सँग भेट्ने ? यही प्रश्नको भङ्गालोले उनलाई रङ्गकर्मी (मुक्कुम्लुङ नाटकका निर्देशक)अनिल सुब्बासँग समाहित गराइदियो।

उनी भन्छन्,‘ किनकी गाँउमा अनिल सुब्बा दाइ, चेतन दाइहरू तिहारमा गीत गाउँनु हुन्थ्यो। उहाँहरूसँग हिँड्दा गीत गाउँन पाइने रहेछ भन्ने लागेको थियो। ’

 उनी त्यो समय १५ वर्षको रहेछन्। सपना र रहरले भरिएको उमेर त्यसै पनि उर्जाशील नै हुन्छ। तर, गीत गाउँन पाइने हुटहुटीले अगाडि बढेको उनको यात्रा समयसँगै गन्तव्य मोडियो। अझ भनौँ उनी गीतमा भन्दा पनि नाटकमा रमाउन थाले।

हुन त रहर एउटा परिस्थितिले डोर्याएको बाटो अर्को हुनु पनि जीवनको सुन्दर पक्ष हुँदो हो। उनले बाटो नफेरेको हुँदो हो अहिले मानहाङको अभिनय कला ’गजब’ भन्ने चर्चा हुँदैन थियो।

‘अनिल सुब्बा दाइहरूसँग भेटेपछि गीत गाउँन पाइन्छ भन्ने लागेको थियो।  नाटक गराउन थाल्यो’, उनी  भन्छन्,‘त्यतिकै नाटकमा लत बस्यो। त्यसमा पनि गाउँँमै काम गर्न थालियो।’

उसो त उनलाई गाउँमा काम गर्न त्यति सजिलो पनि थिएन। भूगोल र दुरीको हिसाबले घरबाट नाटक गर्ने स्थानसम्म आउन जान दुई घण्टाको यात्रा गर्नुपर्थ्यो। तर, पनि आफूले थालेको यात्रामा सफलता भेट्न उनी दौडिरहेकै हुन्थे। 

तर, केही समय पछि चुलाचुलीको माटोमा उम्रिएको कलाको विरुवा छर्न उनले संघीय राजधानी पस्ने निधो गरे। मोरङको ‘झोराहाट नाटकघर’ मा जीवन बरालले दिएको एक महिने प्रशिक्षणमा सहभागी भएपछि झन उनको नाटकमा नै मन अल्झिँदै गएको सुनाउँछन्।

 पहिलो पटक खेलेको नाटकको नाम ठ्याक्कै ठम्याउन सकेनन् तर त्यो नाटक सकिने बित्तिकै उनी स्कलरसिपमा कलालाई थप तिखार्न काठमाडौंको यात्रा तय गरेको उनले विगत स्मरण गर्दै सुनाए।

‘ युवराज सरले वर्कशप लिएर आउनु भएको थियो। मैले जाने कुरा व्यक्त गरेपछि थिएटरबाट एकजना आउ भन्नुभयो।  स्कलरसिप थियो। ’ उनले गफैगफमा आफ्नो विगत सुनाए, ‘टिममा सल्लाह हुँदा कोही नजाने भनेपछि शिल्पी थिएटरमा म नै गए।’

२०७३ सालमा चुलाचुलीमा उम्रिएको कलाको बिउ रोप्न काठमाडौं भासिएका उनी संघर्षको जँगार छिचोल्दै अहिले कलामा फुल फुलाउँदै छन्।

शिल्पी थिएटरमा रहँदा सिकाइबाट बचेको समय के गर्दा राम्रो हुन्छ भन्नेमा ध्यान दिँदै अगाडि बढेको उनको नाटक यात्रामा शिल्पीमा ५ वर्ष बस्दा उनले एउटा नाटकमा मात्रै सहभागी हुने अवसर पाए।

 के भएर अवसर नपाउनु भएको ? भन्ने प्रश्नमा उनले भने,‘म त्यति सम्मको क्यापेबल पनि भएको थिइन होला।’

फोरम थिएटरको लागि बाहिर हुने भएकाले पनि नाटक गर्न नपाएको हुन सक्ने उनको बुझाई छ। त्यसो त शिल्पीबाट बाहिर पनि नाटक गर्ने अवसर पाएको उनी सुनाउँछन्।

किरण चाम्लिङको डाइरेक्सनमा जोखाना, खुवालुङ, बाखाम्बा अनिल सुब्बाको निर्देशनमा रहेको मुकुम्लुङ त्यो भन्दा अगाडि मुनामदनमा पनि काम गरिसकेको उनीसँग अनुभव छ। उनी भन्छन्,‘जोखानामा जति काम गरे त्यतिको अहिले गर्न सके हुन्थ्यो जस्तो लाग्छ।’

 त्यसो त उनले काठमाडौं जाने बित्तिकै नाटकमा काम गर्ने मौका पाएका थिए। यसमा पनि उनी आफूलाई भाग्यमानी नै ठान्छन्। यो क्षेत्रमा स्थापित भइरहन र काम गरिरहनु किरण चाम्लिङ, अनिल सुब्बा लगायतको  हात रहेको बताउँदै उनले कामको विषयमा धेरै नै सकारात्मक साथ दिने गरेको उनी सुनाउँछन्।

 गफैगफमा नाटकमा पछिल्लो समय फेरिएको सकारात्मक शैलीको विषयमा पनि उनले कुरा गर्न भ्याए। आदिवासीको कथाहरू नाटक मार्फत आइरहेको छ।  पछिल्लो समयको नाटकले पुरानो शैलीबाट फड्को मारको हो ? भन्ने हाम्रो प्रश्नमा उनले भने,‘हो नि! पहिले आउनु पर्थ्यो, अलिक ढिलो आयो।’

उनले थपे, ‘हाम्रो कथाहरू आउन बाँकी छ। अझै कथाहरू भन्न बाँकी छ, भन्न सकेको छैन। बल्ल कथाहरू आउने आँट गर्दैछ।’

खुवालुङ फुटाउने योजनाको विरुद्धमा निर्माण भएको नाटक खुवालुङ त्यो पनि कलाको माध्यमबाट आन्दोलन भएको बताउँदै उनी मुक्कुम्लुङ अतिक्रमण भएको सन्दर्भमा नाटकमा नै काम गर्न पाएकाले पनि आफू भाग्यमानी भएको तर्क राख्छन्।  पछिल्लो समय नेपाली कथाले रंगमञ्चलाई नेपाली बजारमा लाग्न सफल भएको बताउँदै उनले विदेशी नाटक गरेर नेपाली रगमञ्चलाई कहाँ पुर्याउछौँ ? भन्दै उनी आफै प्रश्न पनि गर्छन्।

विदेशी कथा पहिले नै ‘ पपुलर’ हुने भएकाले अब नेपाली कथा बजारमा लग्न सके नेपाली रंगमञ्च बजारमा जाने उनको बुझाइ छ। उनी भन्छन्, ‘यो कुरामा पनि खुशी छु। अरुले जे सुकै भनोस् हामीले हाम्रा कथा लगेर रंगमञ्चलाई नेपाली बजारमा लगेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.