|

जनकपुरधाम : त्रेतायुगमा सीतारामले रङ, अबिर दलेर होली खेलेको सम्झनामा मिथिला मध्यमा परिक्रमामा सहभागीहरूले कञ्चन वनमा उत्सव मनाएका छन्।

मिथिला विहारीको डोलासँगै कञ्चनवन पुगेका तीर्थयात्रीहरूले एकअर्कालाई रङ, अबिर दल्दै बिहीवार होलीको उल्लास साटेका छन्। संस्कृतिविद्हरूकाअनुसार परिक्रमा डोला कञ्चन वन पुगेपछि होली खेल्ने परम्परा रहेको छ।

मिथिलाञ्चलका विभिन्न मठ–मन्दिरका महन्थ, सामाजिक तथा सांस्कृतिक अभियन्ता, राजनीतिक व्यक्तित्वहरू समेत कञ्चन वनको होलीमा सहभागी भएका छन्। 

फागुन शुक्ल प्रतिपदाबाट शुरू भएको मिथिला मध्यमा परिक्रमा सप्तमी तिथिमा ध्रुवकुण्ड हुँदै कञ्चन वन पुग्छ। यही स्थानमा इच्छावती गंगा र वीरजा गङ्गाको संगम रहेको छ। 

जनविश्वासअनुसार इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको थियो। सीतारामले यही स्थानमा होली खेलेको मानिन्छ। जसलाई परिक्रमाका सहभागीहरूले रंग–अबिरबाट पुनर्जीवित गर्ने परम्परा कायम राखेका छन्।

एकातिर रङ–अबिरको छटा, अर्कोतर्फ होरैया गीतको गुञ्जन, अनि हजारौँ भक्तजनहरूको उल्लासमय सहभागिताले कञ्चन वनको होलीलाई झनै विशेष बनाएको छ। 

जनकपुरधामको हनुमाननगरबाट शुरू भएको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड हुँदै कञ्चनवन पुगेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.