|

तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित राजनीतिमा मात्र होइन व्यावसायिक कृषिकर्ममा समेत जमेका छन्। 

उनी अहिले म्याग्दे गाउँपालिका-४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरिरहेका छन्। उनी हरेक बिहान कागती गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने गर्छन्। 

‘हाल एक हजारभन्दा बढी कागतीका बोटले फल दिन शुरु गरेको छ’, उनले भने, ‘एक सिजनमा १५-२० हजार किलो कागती उत्पादन हुन्छ। आगामी वर्षदेखि मात्रै बजार पठाउन उत्पादन हुनेछ।’

भूगोल र माटो सुहाउँदो खेती गरेकाले बादर लगायतका जङ्गली जनावरले समेत क्षति पुर्‍याउन नसक्ने र बाँझिएको जमिनको उपयोग हुने उनी बताउँछन्। 

बजार माग उच्च रहेको कागजी खेतीसँग अब पुर्ख्यौली जमिनमा व्यावसायिक रुपमा मेवा खेती गर्ने नगर प्रमुख पण्डितको तयारी छ। आम्दानीसँगै कृषिको विकास, स्थानीयलाई रोजगारीको अवसर र बाँझिएका जमिनको उपयोगमा सहयोग पुग्ने सोचका साथ कृषि क्षेत्रमा आबद्ध भएको उनी बताउँछन्। 

कोदो, मकै, भटमासलगायतका खेती गर्दा बाँदरलगायतका जङ्गली जनावरले क्षति पुर्‍याएपछि बाँझो बनेको जमिनमा उनले कागती खेती शुरु गरेपछि नगरका अरु पनि यसमा आकर्षित भएका छन्।

अम्लीय फलफूललाई जङ्गली जनावरले क्षति पुर्‍याउन नसक्ने भएकाले कृषि ज्ञान केन्द्रले बाँदरको बढी आतङ्क रहेका स्थानमा कागतीलगायतका फलको खेतीलाई प्रोत्साहन गर्दै आएको छ। 

यहीँ उत्पादन बढाउन सकिएमा कागतीलगायतका तरकारी तथा अम्लीय फलको आयात घटाउन समेत सहयोग पुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.