|

काठमाडौँ : मधेश प्रदेशको जनकपुरधाममा ११५ औँ अन्ताराष्ट्रिय नारी दिवस मनाइएको छ।

शनिवार मधेश प्रदेशको जनकपुरधाम उपमहानगरमा विभिन्न कार्यक्रम गरी अन्ताराष्ट्रिय नारी दिवस मनाइएको हो। जनकपुरधाम नगरपालिका वडा नम्बर १० का महिला सदस्यहरूले महिलासम्बन्धी सशक्तिकरणका कार्यक्रमले महिलालाई नेतृत्वमा पुग्न सहज हुने बताए। महिलाहरू अगाडि आउन देखिएको चुनौती सामना गर्न नारी दिवसको अवसरमा चेतनामूलक कार्यक्रम आयोजन गरिएको उनीहरूको भनाइ छ।

नेतृत्वमा पुग्नका लागि महिलाहरूले पहिला घरबाटै मुक्ति पाउनुपर्ने सचेत महिलाहरू बताउँछन्। समाजमा पुरुष समान अधिकार खोजे पनि महिलाहरू घरमै शोषणमा परेको उनीहरूको भनाइ छ। पछिल्लो अवस्थामा महिलाहरू शिक्षित भएर राज्यका विभिन्न अंगमा पुगे पनि पुरुष सत्तात्मक सोचमा परिवर्तन नभएको महिलाहरूले नै बताएका छन्। उच्च ओहदामा पुगेका महिलाहरू पनि पुरुष सत्तात्मक सोचकै कारण राज्य र घरको दोहोरो बोझ बोकेर हिँड्न बाध्य भएको उनीहरूको भनाइ छ।

सामाजिक कार्यकर्ता रीताकुमारी साह मधेश प्रदेशका महिला हरेक कुरामा पछाडि परेको बताउँछिन्। केही राजनीतिक नेताबाहेक कुनै पनि क्षेत्रमा महिलाको स्थान नगण्य रहेको उनको भनाइ छ। प्रदर्शनमा सहभागी पुनम यादव महिला अधिकार प्राप्तिका लागि मधेशमा अति कठिन रहेको बताइन्। घरको घेराबाट बाहिरी समाजमा जानै मुस्किल रहेको उनको भनाइ छ। जनकपुरधाम वडा नम्बर ८ की रेणु गुप्ता रौनियार महिला र पुरुषबीचको श्रममा रहेको विभेद स्थानीय सरकारले अन्त्य गर्नुपर्ने बताउँछिन्। महिलाले पाएको जे जति अधिकार छ सरकारले सुनिश्चित गर्नुपर्ने उनको माग छ। 

महिला दिवसको अवसरमा मात्र नभई महिला सशक्तिकरण र जागरणका लागि विविध कार्यक्रम आयोजना सरकारी स्तरबाटै हुनुपर्ने महिलाहरूको माग छ। महिला जागरण सम्बन्धित कार्यक्रम आयोजना गरी महिलालाई नेतृत्वमा पुग्न सरकारले सहजीकरण गर्नुपर्नेमा महिला अभियन्ताले जोड दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.