काठमाडौँ : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सञ्चालन हुँदै छ। यो परीक्षा चैत ७ गतेदेखि शुरु भएर १९ गते सकिनेछ। यसका लागि परीक्षा केन्द्र तोकिसकिएको छ तर परीक्षा केन्द्र तोक्नमा चरम आर्थिक चलखेल भएको पाइएको छ।
निजी विद्यालयका प्रधानाध्यापकहरूले सेटिङका आधारमा एसइईमा धेरै नम्बर ल्याउन आफूले भनेको परीक्षा केन्द्र किनेका छन् भने यसको व्यवस्था अर्थात् तोक्ने काम सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइहरूले गरेका छन्।
विद्यालयका प्रधानाध्यापक र शिक्षा विकास तथा समन्वय एकाइबीच परीक्षा केन्द्रका लागि गरेको आर्थिक चलखेलले सबैको ध्यान यतिखेर तानेको छ। सिरहामा शिक्षा विकास तथा समन्वय एकाइ सिरहाका परीक्षा शाखा प्रमुख विशाल साह कानु र निजी विद्यालयका प्रधानाध्यापकबीच आर्थिक प्रभावमा आफूले रोजेको परीक्षा केन्द्र पारिदिन भन्दै गरेको कुराकानीको अडियो नै सार्वजनिक भएको छ।
कान्तिपुरले सार्वजनिक गरेको अडियोमा कानुले ती प्रधानाध्यापकलाई भनेका छन्, ‘ठिक छ म गर्दै छु, तपाईले जहाँ परीक्षा केन्द्र भन्नुहुन्छ त्यसमा म हाल्दिन्छु, त्यसमा कुनै टेन्सन छैन।’
प्रधानाध्यापकहरूले त्यसका लागि ४० हजारसम्म दिने गरेको खुल्लमखुल्ला सञ्चारमाध्यमलाई जानकारी दिने गरेका छन्। यस विषयले सरकारलाई नै चुनौतीसँगै परीक्षा प्रणालीमै गम्भीर प्रश्न खडा भएको छ। एसइई परीक्षामा पछिल्लो समय केन्द्र निर्धारणदेखि परीक्षाका वेला पनि अनधिकृत रूपमा चिट चोराउने गरिएको छ।
गत वर्षको एसइई परीक्षामा ‘म्यासेन्जर ग्रुप’ नै बनाएर चिट चोर्ने काम भएको थियो। खोटाङमा एसइई परीक्षामा म्यासेन्जर ग्रुप बनाएर चिट चोरिरहेका तीनजना परीक्षार्थीलाई प्रहरीले नै नियन्त्रणमा लिएर परीक्षाबाटै निष्काशन गरेको थियो। शिक्षक र विद्यार्थीहरूले म्यासेन्जरमा ‘क्लास टेन एसइई ग्रुप’ बनाई मोबाइलबाट प्रश्नपत्रको फोटो पठाउने र बाहिरबाट उत्तरको फोटो आएपछि उत्तरपुस्तिकामा लेख्ने गरिरहेका फेला परेको थियो।
केन्द्र र बोर्ड भन्छन् : छानबिन गरेर कारबाही हुन्छ
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मातहतमा शिक्षा विकास तथा समन्वय एकाइ पर्छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी हरिप्रसाद अर्यालले आर्थिक लेनदेन गरी परीक्षा केन्द्र तोकिएको पाइए कारबाही हुने बताए।
उनले भने, ‘परीक्षा केन्द्रमा त्यसरी आर्थिक लेनदेन गर्न मिल्दैन। त्यसरी पैसा लिएर आफूले भनिएको ठाउँमा परीक्षा केन्द्र तोकिएको पाइए सम्बन्धित सबैलाई कारबाही हुन्छ।’
यता शिक्षा विकास तथा समन्वय एकाइ सिरहा प्रमुख दीपक राज कलौनीले भने पारदर्शी रूपमा परीक्षा केन्द्र कायम गरिएको र कुनै कर्मचारीले पैसा लिएर केन्द्र तोकेको प्रमाणित भए कानुनअनुसार सजाय दिने बताएका छन्।
जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्र निर्धारण गर्छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने यस समितिमा शिक्षा एकाइ प्रमुख, जिल्ला प्रहरी प्रमुख, सशस्त्रका जिल्ला प्रमुख लगायत रहन्छन्।
जिल्ला प्रशासन कार्यालय, सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले यस विषयमा राष्ट्रिय परीक्षा बोर्डबाट नै छानबिन हुन लागेको जानकारी दिए। ‘परीक्षा केन्द्र विषयमा पैसा दिएर तोकिएको अडियो नै सार्वजनिक भएको छ। यस विषयमा के कसो भएको भनी परीक्षा बोर्डले नै छानबिन गर्ने भनेकाे छ। छानबिनमा हामी पनि सहयोग गर्छौ। हामीमाथि पनि अब छानबिन गर्नुपर्छ, छानबिनपछि के भएको हो भन्ने थाहा हुन्छ’‚ उनले भने।
यो वर्षको एसइई परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइई परीक्षा तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ।
चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा, संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।