काठमाडौँ : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदै छ। प्रतिस्पर्धाका लागि विभिन्न विद्यार्थी संगठनहरूले दर्ता गरिसकेका छन्।
स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार त्रिविअन्तर्गत २५ वटा सङ्घ तथा सङ्गठन दर्ता भएका छन्।
यतिखेर विद्यार्थी संगठनले आ-आफ्नो उम्मेदवार छान्दै भोट मागिरहेका छन्। उनीहरूलाई जिताउन घोषणापत्रको ललिपप देखाइरहेका छन्। अधिकांश विद्यार्थी संगठनले घोषणापत्र सार्वजनिक गरिसके भने अरू गर्ने तयारीमा छन्।
यस्ता छन् उनीहरूका घोषणापत्र:
छात्रवृत्ति कोटा २० प्रतिशत पुर्याइनेछ : अनेरास्ववियु
नेकपा एमालेनिकट अनेरास्ववियुले आज (सोमवार) पत्रकार सम्मेलन गरी स्ववियु निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। अनेरास्ववियुले विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी शिक्षण संस्थाहरूबाट दिइँदै आएको १० प्रतिशत छात्रवृत्ति कोटालाई बढाएर २० प्रतिशत पुर्याउने पहल गर्ने घोषणा गरेको छ।
शिक्षामा राज्यको लगानी वृद्धि गर्न आवश्यक नीति तर्जुमा पहल गर्ने, विश्वबजारमा प्रतिस्पर्धी गर्न सक्नेगरी दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक कार्यक्रमको सञ्चालन गर्ने, त्रिविका ठूला आंगिक क्याम्पसहरूलाई विकेन्द्रीकरणको अवधारणाअनुरूप स्थानीय आवश्यकताअनुसार स्वायत्त तरिकाले सञ्चालन गर्न पहल गर्ने अनेरास्ववियुको प्रतिबद्धता छ।
‘लक्षित वर्गलाई दिइने छात्रवृत्ति वृद्धि गर्न पहल गरिनेछ,’ घोषणापत्रमा भनिएको छ, ‘विश्वबजारमा चाहिने अनुकूल पाठ्यक्रम परिमार्जन पहल गरिनेछ।’ त्यस्तै, अनेरास्ववियुले प्राध्यापकहरूको क्षमता समयसापेक्ष विकास गर्ने, प्रविधिमैत्री सिकाइमा पहल गर्नेलगायत घोषणापत्र सार्वजनिक गरेको छ।
स्वास्थ्य उपचारमा विद्यार्थीहरूलाई ५० प्रतिशत छुट : अनेरास्ववियू
नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूले स्वास्थ्य उपचारमा विद्यार्थीहरूलाई ५० प्रतिशत छुट दिलाउने दावी गरेको छ। त्यस्तै, डिजिटल लाइब्रेरी, ई-लनिङ प्लेटफर्म र सोलार पावर्ड स्टडी जोन निर्माण, काउन्सलिङ सेवा र क्याम्पसमा मानसिक स्वास्थ्य क्लिनिक स्थापना गर्ने घोषणा गरेको छ।
वार्षिक इन्टर कलेज फेष्ट प्रतियोगिता आयोजना, इन्टरनेशनल एक्सचेन्ज प्रोग्राम, विदेशी भाषा कोर्स र ग्लोबल इन्टर्नशिपको लागि सम्झौता गर्ने अनेरास्ववियूले स्ववियु चुनावी प्रतिबद्धता जारी गरेको छ।
त्रिविलाई दक्षिण एशियाकै अग्रणी अनुसन्धान संस्था बनाइन्छ : अखिल क्रान्तिकारी
अखिल (क्रान्तिकारी) बहुमतले हिजो आइतवार स्ववियु निर्वाचनको लागि त्रिभुवन विश्वविद्यालय सुधारको ३३ बुँदे एजेण्डासहित घोषणापत्र सार्वजनिक गरेको छ।
अखिल क्रान्तिकारी पाटन संयुक्त क्याम्पस ललितपुर अध्यक्षका उम्मेदवार निशा राहुलले घोषणापत्र वाचन गर्दै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने प्रणाली खारेज गर्ने बताइन्।
त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउन संघर्ष गर्ने, स्ववियुलाई स्वच्छ पारदर्शी बनाउने उनले बताइन्। त्यस्तै, त्रिविलाई दक्षिण एशियाकै अग्रणी अनुसन्धान संस्थाको रूपमा विकास गर्न पहल गर्ने पनि उनले बताइन्।
‘विश्वविद्यालयमा भइरहेको राजनीतिक भागबन्डा र हस्तक्षेपको अन्त्य गर्नेछौँ,’ उनले भनिन्। त्यस्तै उनले चारवर्षे स्नातक तहलाई तीनवर्षे बनाउने, सरूवा बढुवालाई पारदर्शी बनाउने लगायत घोषणा पनि गरिन्।
राजनीतिक भागबण्डाको अन्त्य गर्छु : उज्जवल खड्का
राजनीतिशास्त्रका विद्यार्थी उज्ज्वल खड्काले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्ववियु निर्वाचनमा सभापति पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले पनि राजनीतिक दलको भागबण्डामा परेर त्रिविका अनुसन्धान केन्द्रहरूमा भइरहेको क्षयीकरण अन्त्य गर्ने दावी गरेका छन्।
स्ववियुको अगुवाई र वकालतले अनुसन्धान केन्द्रहरूलाई नयाँ जीवन दिने उनको प्रतिबद्धता छ। त्यस्तै, विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने प्रणाली खारेज गर्ने उनले बताएका छन्। उनले दलीयकरणको चपेटामा परेको विश्वविद्यालयलाई एकेडेमिक एक्सिलेन्सको मार्गमा हिँडाउन पहल गर्ने बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।