काठमाडौँ : नेपालकै पहिलो बन्दै गरेको आयोजना हो– ‘ग्वार्को फ्लाइओभर’। इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनेको यो फ्लाइओभर तोकिएको समयसीमामा बनिसकेको भए यतिखेर सञ्चालन भइसक्थ्यो। ट्राफिक व्यवस्थापन सहज हुने थियो‚ तर हालसम्म बन्न सकेको छैन।
निर्माणको काम अन्तिम चरणमा आइपुग्दा उक्त फ्लाइओभर अहिले भत्काइएको छ। यसअघि दुवै (कोटेश्वर र सातदोबाटो)तर्फ प्रिकाष्ट प्यानल अर्थात् पर्खाल लगाएर माटोले भरिसकेको थियो। पिच गर्ने तयारी गरिएको थियो तर अहिले सातदोबाटोतर्फको पर्खाल भत्काएर सबै माटो र ब्लक निकालिएको छ। पर्खाल र माटो निकालेर पुनः जगबाट नै पर्खाल लगाउन थालिएको छ।
त्यसो त हाल निर्माण प्रगति विवरण ८२ प्रतिशत भनिएको कामको प्रगति विवरण अझै बढ्नुपर्ने वेला प्रगति ‘माइनस’मा पुगेको छ। आगामी वैशाखसम्म सम्पन्न हुने भनिएको फ्लाइओभरको काम अब कहिलेसम्म सकिन्छ भन्ने यकिन समय सडक विभागले भन्न सकेको छैन। २०७८ फागुन १२ गते आशिष–समानान्तर–रेलिगेर जेभी र सडक विभागबीच २०८० फागुन ११ (२ वर्ष)को अवधिमा ४ लेनको काम सक्ने गरी सम्झौता भएको थियो।
तर तोकिएको समयमा बन्न सकेन। त्यसपछि २०८१ पुस ८ गतेसम्म निर्माणको म्याद थप गरियो। थप गरिएको म्यादमा पनि काम सकिएन। बनिसक्नुपर्ने वेला अहिले भत्काइएको छ। सडक विभागका अनुसार गुणस्तरहीन काम भएको पाइएपछि भत्काउन लगाइएको हो।
सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी प्रदीप भण्डारीले निर्माणमा केही त्रुटि देखिएकाले सच्याउन अहिले भत्काएर फेरि वाल लगाउन थालिएको जानकारी दिए।
विभागका अनुसार प्रिकाष्ट प्यानल अर्थात् ब्लक/वालमा माटो हालिएपछि फाटियो। ठूला चिरा देखिए। त्यही कारण जुनसुकै वेला भत्किने जोखिम बढेपछि ठेकेदार कम्पनीलाई तत्कालै भत्काएर पुनः डिजाइनअनुसार बनाउन निर्देशन दिएपछि यसरी भत्काएर काम थालिएको हो। अहिले धमाधम काम भइरहेको छ।
पटक–पटक काम रोक्दै सुरु गर्दै
ग्वार्को फ्लाइओभर निर्माणको काम पटक पटक रोकिएको छ। गत माघमा पनि करिब डेढ महिना काम रोकियो। ठेकेदार नै सम्पर्कविहीन भएको भन्ने चर्चा पनि चल्यो। तर आशिष–समानान्तर–रेलिगेर जेभीका सहायक इन्जिनियर कृष्णगोपाल श्रेष्ठले सम्पर्कमा रहेको र काम गर्ने वातावरण नभएकाले काम गर्नै छाडेको जानकारी दिएका थिए।
काम रोकिएपछि सरकार र ठेकेदारको चौतर्फी आलोचना भयो। ठेक्का नै तोड्ने विभागको चेतावनीपछि ठेकेदार कम्पनीले त्रुटि देखिएको काम सच्याइरहेको छ। यसअघि पनि डिजाइनमै त्रुटि भएपछि निर्माणको काम रोकिएको थियो। उक्त निर्माणको काम त्यसरी बारम्बार रोकिँदा र बनिसकेको काम फेरि भत्काइँदा यता ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
समयमा यात्रुहरू आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन्। ग्वार्को फ्लाइओभरको काम छिटो सक्न स्थानीयदेखि यात्रुहरूले माग गर्दै आएका छन्। गत असारमै सबै काम दशैँअघि नै बनाइसक्न स्थानीयले माग गरेका थिए। फ्लाइओभर निर्माणको विषय संसदमा प्रवेश भइसकेकाे छ तर सम्पन्न हुन सकिरहेकाे छैन।
कहिले सकिन्छ निर्माणको काम ?
सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी भण्डारीका अनुसार उक्त निर्माणको काम आगामी चैत वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर भएको त्रुटि सच्याउनुपर्ने भएपछि लक्ष्य लिइएको समयमा बन्न सक्ने छाँटकाँट देखिएको छैन। अब कहिलेसम्म सबै काम सकिन्छ भन्ने यकिन भन्न सकिने अवस्था पनि छैन।
‘काम त चैत मसान्तसम्म सकाउने भन्ने थियो तर यो समयमा काम सकिएला जस्तो छैन, अब हेर्दै जाऊँ कहिलेसम्म काम सकिन्छ’, उनले भने। १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा बन्न लागेको फ्लाइओभरको लम्बाइ ४९० मिटर रहनेछ। ग्वार्को चोकबाट बी एण्ड बीतर्फ १३५ मिटरको र्याम्प रहनेछ भने ग्वार्को चोकबाट बालकुमारीतर्फ २८० मिटरको र्याम्प रहनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।