काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ मा गरेको सम्बोधनपछि उनका समर्थकहरू हौसिएका छन्। उनकै स्वागतका नाममा समर्थक दल तथा विभिन्न समूह एक ठाउँ भएर केही दिनअघि शक्ति प्रदर्शन गरे, जुन सम्भवतः गणतन्त्र आएपछिकै ठूलो प्रदर्शन हो।
गणतन्त्रवादीहरूलाई चेतावनी दिँदै देश बचाउने हो भने आफूलाई साथ दिन देशवासीसमक्ष पूर्वराजाले गरेका आह्वानले उनका समर्थक त हौसिए। स्वयं पूर्वराजा शाहले के आधारमा त्यसो भने ? उनका पछाडिको शक्ति के हो ? उनलाई कसको साथ हुन सक्छ ? यो अहिलेको आमजिज्ञासा हो।
आन्तरिक वस्तु स्थितिलाई केलाउँदा राजतन्त्रको पुनरोदय त परको कुरा यस्तो दाबी गर्ने कुनै आधारसमेत देखिँदैन। पूर्वराजाको बाटोका प्रमुख तगारो गणतन्त्रवादी दलहरू हुन्। अन्य विषयमा मतभेद भए पनि राजतन्त्रको विपक्षमा उनीहरू एक ठाउँमा छन्।
न पूर्वराजाको नाममा राजनीति गर्दै आएको राप्रपाको हैसियत ठूलो छ, न त लोकप्रियता नै बढ्दो। संसद्को पाँचौँ दल राप्रपाका प्रतिनिधिसभामा १४ सांसद छन्। प्रत्यक्षबाट ७ सांसद निर्वाचित भएकामा आधा त एमालेको समर्थनमा जितेका हुन्।
झापा ३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, रूपन्देही ३ बाट दीपक बोहरा र बाँके २ मा धवलशमशेर राणा एमालेका समर्थनमा जितेका हुन्। चितवन-३ बाट निर्वाचित विक्रम पाण्डेलाई पनि एमालेको अप्रत्यक्ष सहयोग थियो। एमालेले स्वतन्त्र उम्मेदवारलाई सघाउने भने पनि पाण्डेले आन्तरिक सहयोग पाएका थिए।
त्यसपछिका उपनिर्वाचनहरूको मत केलाउँदा पनि राप्रपाको जनमत बढ्दो देखिँदैन। पछिल्ला संघ, प्रदेश र स्थानीय तह उपनिर्वाचनमा राप्रपाको जनमत नै जफत हुने स्थिति बन्यो।
पूर्वराजाको नाममा राप्रपाबाहेक अन्य विभिन्न समूह पनि सञ्चालित छन् तर उनीहरू एक ठाउँमा छैनन्। २५ फागुनमा त्रिभुवन विमानस्थलदेखि नागार्जुनसम्म एकसाथ राजावादीहरूबीच आरोप–प्रत्यारोप चलिरहेकै छन्।
सानाठूला गरी विश्वका करिब १९२ मुलुकमा राजतन्त्र रहेकोमा अहिले ८ वटामा सीमित भएको उनीहरूको भनाइ छ।
उसो भए के हो त पूर्वराजाको शक्ति स्रोत ?
करिब १८ वर्षअघि गद्दी छाडेका पूर्वराजा शाह नागार्जुनमा थन्किएका छैनन्। पहिल्यैदेखि उनले आफूलाई ‘हिन्दुहरूको केन्द्र हुँ’ भन्ने सन्देश दिने गरी देशदौडाहा मात्रै गर्दै आएका छैनन्, वेलाबखत छिमेकी मुलुक समेत पुग्ने गरेका छन्।
पुस पहिला साता मात्रै पूर्वराजा शाह दक्षिणी छिमेकी मुलुक भारत पुगेका थिए। त्यस वेला उनले नेपाल हिन्दुराष्ट्र बनोस् भनेर इच्छा राख्ने सत्तारुढ भाजपाका नेताहरूसँग भेटवार्ता गरेको चर्चा थियो।
त्यस वेला शाहले भाजपा नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेको बताइएको थियो। २५ फागुनको प्रदर्शनमा राजावादीहरूले उनको तस्बीर बोक्नुले पनि यसलाई पुष्टि गरेको आमबुझाइ छ।
यसैलाई आधार मानेर पूर्वराजा हौसिएको हुन सक्ने विश्लेषण भइरहेका छन्। विश्लेषक सुरेन्द्र लाभ भन्छन्, ‘म हिन्दुहरूको एक मात्र केन्द्र हुँ भनेर पहिल्यैदेखि सन्देश दिन खाजेका हुन् पूर्वराजाले। यसमा भाजपा शुरुदेखि लागिपरेको छ। अहिले पनि यसैको बलमा पूर्वराजा हौसिएका हुन् भन्ने मलाई लाग्छ।’
अर्का विश्लेषक प्रा.डा. प्रेम शर्मा पनि कुनै आधार नहुँदा पनि त्यसरी हौसिएर बोल्नुमा बाह्य शक्तिको केही प्रभाव भएको बताउँछन्। राजावादीहरूको प्रदर्शनमा योगी आदित्यनाथको तस्बीर देखिनुलाई पनि उनी आधार मान्छन्।
उनी भन्छन्, ‘अहिले राजा त्यसरी बोल्नुको पछाडि बाह्य हावा पक्कै पनि हो। सानो प्रमाण योगी आदित्यनाथको फोटो र्यालीमा देखिनु पनि हो। त्यो त्यतिकै देखाइएको होइन।’
साढे पाँच महिनाअघि पूर्वराजा शाह भुटान पुगेका थिए। अझै राजसंस्था रहेको भुटानमा उनले पाएको भव्य स्वागतलाई पनि यसैसँग जोड्ने गरिन्छ तर विश्लेषक शर्मा यसमा भने सहमत छैनन्।
‘भुटानलाई त यसमा जोड्नुपर्ने कारण म देख्दिन। किनभने भुटानले त सरेन्डर गरेर भारतीय सर्भेलेन्समा चल्छु भनेका कारणले छुट्टै इतिहास कायम गरेको छ’, उनी भन्छन्, ‘अस्ति जाँदाखेरी जुन भव्य स्वागत पाए‚ त्यो त कुलीनतन्त्रमा उनीहरूको एउटा खानदान हुन्छ। उनीहरूले गर्ने भए।’
दलहरूको अकर्मण्यता पनि पूर्वराजाका लागि अर्को प्रमुख आन्तरिक शक्तिको स्रोत हो भन्ने आमबुझाइ छ। गणतन्त्रवादी दलहरूका कारण उत्पन्न निराशा र जनआक्रोशलाई पूर्वराजाले शक्तिका रूपमा देखेको विश्लेषक डा. शर्माको बुझाइ छ।
पालैपालो सत्तामा गएका दलहरू स्वार्थसिद्धिमा केन्द्रित हुनाले सबै दल उस्तै हुन् भन्ने भान जनतामा परेको र त्यहीँबाट उत्पन्न निराशा र आक्रोशलाई शक्तिमा बदल्ने प्रयास पूर्वराजाबाट भएको उनी बताउँछन्।
‘खासगरी जनताको कोणबाट हेर्दा सबै दलहरूबीच तात्त्विक भिन्नता देखिँदैन। यिनीहरूबाट केही नहुने हो कि भनेर जनतामा निराशा र आक्रोश बढ्दै गएको छ’, उनी भन्छन्, ‘ठ्याक्कै यही मौकामा फलाम तातिएका वेला हान्नु भनिएझैँ ज्ञानेन्द्रले बोलेका हुन्।’
भूराजनीतिका अध्येता चन्द्रदेव भट्ट पनि दलहरूको कमजोरीलाई नै पूर्वराजाले शक्तिमा बदल्न खोजेको बताउँछन्। उनी बाह्य उक्साहटभन्दा आन्तरिक असन्तुष्टिलाई नै आफ्नो पक्षमा ल्याउने प्रयास गरेको बुझाइ उनको छ।
‘म चाहिँ के देख्छु भने गणतन्त्रवादी भन्नेहरूले जुन किसिमले काम गर्नुपर्ने थियो‚ त्यसरी गरेनन्। अहिलेका नेतृत्व असफल हुनुलाई पूर्वराजाले व्यवस्था नै असफल हो भनेर देखाउन खोजेका देखिन्छ। त्यसैलाई शक्तिका रूपमा ग्रहण गर्ने प्रयास गरेको देखिन्छ’, उनी थप्छन्, ‘स्वाभाविक रुपमा नेपाल हिन्दु राष्ट्र होस् भन्ने त भारतले चाहन्छ। तर अहिलेको अवस्थामै नेपालको राजनीतिप्रति छिमेकीहरू लागिपरेको जस्तो लाग्दैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।