आतंकवादी आक्रमणबाट मृत्यु हुनेको संख्या ४५ प्रतिशतले वृद्धि
आतंकवादी आक्रमणबाट मृत्यु हुनेको संख्या ४५ प्रतिशतले वृद्धि
पाकिस्तान ग्लोबल टेररिज्म इन्डेक्स २०२५ मा दोस्रो स्थानमा उक्लेको छ। पाकिस्तानमा आतंकवादी आक्रमणबाट मृत्यु हुनेको संख्या ४५ प्रतिशतले वृद्धि भई १,०८१ पुगेको छ।
इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस (आइईपी) द्वारा प्रकाशित १२औं वार्षिक रिपोर्टअनुसार पाकिस्तानमा २०२४ मा १,०९९ आतंकवादी हमला भएका छन्, जुन २०२३ को ५१७ हमलाको तुलनामा दोब्बर बढी हो। पाकिस्तानमा एकै वर्ष १ हजार भन्दा बढी आतंकवादी हमला भएको पहिलोपटक हो ।
रिपोर्टअनुसार पाकिस्तानमा आतंकवादको दर लगातार पाँच वर्षदेखि बढिरहेको छ। हालैको वर्षमा आतंकवादी गतिविधिहरूको कारणले विश्वभर ४५ देशहरूमा स्थिति झनै बिग्रिएको देखिएको छ, जुन पछिल्लो दशकको सबैभन्दा उच्च वृद्धिदर हो।
विशेषगरी, पाकिस्तान, बुरकिना फासो र सिरिया विश्वभर आतंकवादी हमलाबाट सबैभन्दा बढी प्रभावित देशहरू हुन्। पाकिस्तानमा आतंकवाद गतिविधी गर्ने प्रमुख समूह तेहरीक—ए—तालिबान पाकिस्तान (टीटीपी) रहेको छ, जसको आक्रमणमा ९० प्रतिशत वृद्धि देखिएको छ। रिपोर्टका अनुसार टीटीपीले २०२४ मा ४८२ हमला गर्दै ५५८ जनाको हत्या गरेको छ, जुन २०२३ मा भएका २९३ मृत्यु घटनाभन्दा ९१ प्रतिशत बढी हो।
पाकिस्तानका लागि सबभन्दा संवेदनशील क्षेत्रहरूमा बलुचिस्तान र खैबर पख्तूनख्वा रहेका छन्, जहाँ पाकिस्तानमा भएका कुल आतंकवादी घटनामध्ये ९६ प्रतिशत हमला र मृत्यु भएका छन्। बलुचिस्तानमा सक्रिय बलुचिस्तान लिबरेशन आर्मीले २०२४ मा पाकिस्तानकै सबैभन्दा घातक हमला क्वेट्टा रेलवे स्टेशनमा गरेको थियो, जसमा कम्तीमा २५ जना सैनिक र सर्वसाधारण मारिएका थिए।
बलुच विद्रोही समूहहरू र बलुचिस्तान लिबरेशन फ्रन्टले आक्रमणहरूको दर तीव्र पार्दै २०२३ मा ११६ हमला गरेका थिए भने २०२४ मा ५०४ आक्रमण गरेका छन्। यस्तै, बलुचिस्तानमा मात्र आतंकवादी घटनाबाट मृत्यु संख्या ८८ बाट ३८८ पुगेको छ, जुन चारगुना वृद्धि हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।