|

मस्को : रूसले कुर्स्कमाथि पुनः कब्जा गरेपछि युक्रेनले रूससँग बार्गेनिङ गर्ने विषय समाप्त भएको  छ। यो घटनासँगै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अप्ठेरोमा परेका छन्। जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तामा कुर्स्क क्षेत्रको साटो ठूलै उपलब्धि हात पार्ने आशा गरेका थिए।

वार्ताको एक दिनअघि रूसी सेनाले युक्रेनको नियन्त्रणमा रहेको कुर्स्क क्षेत्रको सबैभन्दा ठूलो शहर सुदजामाथि कब्जा गरेको छ। पुटिनलाई दबाव दिन अब जेलेन्स्कीसँग कुनै विकल्प बाँकी छैन।

रूसी रक्षा मन्त्रालयले बिहीवार भन्यो‚ ‘आक्रामक अभियानका क्रममा उत्तरी क्षेत्रमा खटिएको सैन्य समूहले मेलोभाय‚ पोदोल र सुदजाको बस्ती मुक्त गराएको छ।’​

सुदजामा पुन: कब्जा गर्नु भनेको रूसको प्रतीकात्मक ज्ति हो। सुदजा सानो शहर भए पनि युक्रेनी आक्रमण हुनुअघि त्यहाँ करिब ५ हजार मानिस बस्थे। युक्रेनले कब्जा गरेको यो एक मात्र शहर थियो। बिहीवार पत्रकारहरूसँगको नियमित कुराकानीमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनले कब्जा गरेको कुर्स्क क्षेत्रका सबै भाग छिट्टै मुक्त हुने विश्वास व्यक्त गरे।

पेस्कोभलाई यो क्षेत्रबाट युक्रेनी सेनालाई हटाउन कति समय लाग्न सक्छ भनेर सोधिएको थियो। यसका लागि उनले भने, ‘राष्ट्रपति (भ्लादिमिर पुटिन)ले यो जतिसक्दो चाँडो गर्नुपर्छ भन्नुभएको छ। हाम्रा सेना र नागरिकहरूको अधिकतम संख्यामा ज्यान जोगाउन आवश्यक भएसम्म लामो समय लाग्नेछ तर कुर्स्क क्षेत्र चाँडै मुक्त गर्नेछौँ।’​

पुटिन अकस्मात् बुधवार कुर्स्क क्षेत्रमा पुगेका थिए। रूसी राज्य टेलिभिजनले प्रसारण गरेको भिडियोमा सैन्य बर्दीमा देखिएका रूसी राष्ट्रपतिले युद्धको अग्रमोर्चामा रहेका सैनिकलाई यथाशीघ्र कुर्स्कलाई स्वतन्त्र बनाउनुपर्ने बताएका थिए। गत वर्ष युक्रेनले आक्रमण गरेपछि पुटिनको पश्चिमी क्षेत्रमा यो पहिलो भ्रमण थियो। पुटिनको यो यात्राको उद्देश्य सैन्य मनोबल बढाउनु रहेको छ।

एक दिनअघि अमेरिकी र युक्रेनी अधिकारीहरूबीचको शान्तिवार्तापछि जेलेन्स्कीले ३० दिनका लागि युद्धविरामलाई स्वीकार गरेका थिए। यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बल अब पुटिनको कोर्टमा रहेको बताएका छन्। ‘हामीले हेर्नु पर्छ’‚ ट्रम्पले पत्रकारहरूसँग भने‚ ‘यो अब रूसमा निर्भर छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.