महोत्तरी : मधेशको प्राचीन मिथिलाको धार्मिक तथा साँस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा शुक्रबार सम्पन्न गरिँदैछ।
फागुन औँशीका दिन शुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न गरिँदैछ। जनकपुरधामको रङ्गभूमि मैदानमा १५औँ दिनको रात्रिविश्राम गरेका यात्रीले बिहीबार मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा थालेका छन्।
मिथिलामा १५औँ दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ। अन्तिम यात्राका क्रममा बिहीबार साँझ होलिका दहन गरिएको खरानी उडाउँदै अन्तरगृहपथको एक फन्को लगाएपछि पवित्र गङ्गासागरमा चोबलिएर यात्रीले यो वर्षको मध्यमा परिक्रमा सम्पन्न गर्दैछन्।
मिथिलामा फागुन पूर्णिमाका रात राक्षसी प्रवृत्तिकी होलिकाको प्रतीक बनाएर आगो झोसेर दहन गर्ने चलन छ। परिक्रमा यात्रीले पथमा पर्ने होलिका दहनको खरानी उडाउँँदै आपूmभित्रको खराब प्रवृत्ति अन्त्यको कामना गर्दछन्। यो खरानी उडाइने चलनलाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ।
अन्तरगृह यात्रामा मध्यमा परिक्रमामा सरिक हुन नसकेका सर्वसाधारण पनि सरिक हुन्छन्। मध्यमा परिक्रमा गर्न नसकेकाहरूले अन्तरगृहसम्म यात्रा गरे पनि पुण्य प्राप्त हुने मैथिल जनविश्वास छ। यसै विश्वासले आज महोत्तरी, धनुषालगायत आसपासका जिल्लाबाट हजारौँका सङ्ख्यामा सर्वसाधारण अन्तरगृह परिक्रमामा सरिक भएका छन्।
मधेसमा फागुन पूर्णिमा सकिएर चैत कृष्ण प्रतिपदा शुरू भएको दिन होली पर्व मनाइन्छ। मध्यमा परिक्रमाको १३३ किलोमिटर वृत्तभित्र भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाउने चलन छ। यसअनुसार मिथिला मध्यमा परिक्रमा पथभित्र शनिबार होली मनाइने मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त डा रवीन्द्रदास वैष्णवले बताए। निर्धारित वृत्तभित्रका १५ ठाउँ रात्रिविश्राम गरेर १६औँ दिन बिहान सम्पन्न गरिने मिथिला मध्यमा परिक्रमा यात्रा कल्याण र मोक्षको कामनासाथ गरिन्छ।
अघि त्रेतायुगमा श्रीराम र सीताले मिथिलाका विभिन्न भेगको विहार गरेका ठाउँमा सो पदचाप पछ्याउँदै १८औँ शताब्दीमा मिथिला मध्यमा परिक्रमा थालिएको विश्वास गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।