काठमाडौं : समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ।
यही १५ गते काठमाडौँमा हुन लागेको विरोध सभाको तयारीका लागि बैठक बसेको मोर्चाका नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए। यसअघि चैत २४ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको छ। मोर्चाले भोलि बिहान बौद्धिक वर्गसँग अन्तक्रिर्याको कार्यक्रम राखेको छ।
फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सल्बलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन विरोधसभाको कार्यक्रम राखिएको जनाएको थियो। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित छैनन्। बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्। एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द सहभागी छन्।
यसैबीच, मोर्चा घटक नेकपा एकीकृत समाजवादीले आज आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ। सरकार सुशासन कायम गर्न असफल भएको र पुनरुत्थानवादीहरु सल्बलाएको भन्दै त्यसविरुद्ध समाजवादीले आन्दोलन गर्न लागेको हो।
आज दिउँसो १२ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिने केन्द्रीय आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।