पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा बिहीबार सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। गाउँपालिका मातहतमा रहेको कालीगण्डकी प्रज्ञा प्रतिष्ठानले साँस्कृतिक महोत्सव आयोजना गरेको थियो।
महोत्सवमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न समुदायका मानिसले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। मगर समुदायले जिवै मामा नाच, सालैजो, ठूलो नाच (मारुनी), सोरठी, झाम्रे लगायतका गीत र नाच प्रदर्शन गरेका थिए।
यस्तै, ब्राम्हण समुदायले भजन किर्तन, रोइला, रत्यौली, बालन नाच, दलित समुदायले नौमती बाजा बजाएर प्रदर्शन गरेका थिए। उपस्थित सबै दर्शक आफ्नै तालमा सांस्कृतिक कार्यक्रममा झुमिरहेका थिए।
आ–आफ्नो समुदायको पहिचान झल्किने पोसाक लगाएका उनीहरुको नाच गानले भुस्टुङ खेलमैदान दिनभरि गुन्जायमान बनेको थियो।
विभिन्न जातजातिको लोपोन्मुख परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले महोत्सव नै आयोजना गरिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए। हराउँदै गएको पुराना संस्कृति संरक्षण गर्नका लागि गाउँपालिकाले विशेष योजना बनाएर अगाडि बढेको उनले बताए।
कार्यक्रममा प्रमुख अतिथि रहेका गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालले यस्ता खालका महोत्सवले संस्कृति पुस्तान्तरण गर्ने बताए। पाकापुस्ता र युवा पुस्ताले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।