|

काठमाडौँ : यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत ७ गतेदेखि सञ्चालन हुँदै छ। यो परीक्षा चैत ७ गतेदेखि शुरू भएर १९ गते सकिनेछ। यही परीक्षामा उत्कृष्ट नतिजा ल्याउन वर्षेनि स्थानीय तहहरूले विद्यार्थीहरूलाई प्रोत्साहन दिने गरेका छन्।

यस वर्षको एसइई परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउन प्रोत्साहन गर्ने स्थानीय तहहरूको होडबाजी छ। गोरखाका बारपाक सुलिकोट गाउँपालिकाले ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई १ लाख, ३.९० देखि ३.९९ जिपिए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ ल्याउने विद्यार्थीलाई २५ हजार दिने घोषणा गरेको छ।

त्यस्तै, ३.७० देखि ३.७९ जिपिए ल्याउने विद्यार्थीहरूलाई २० हजार र ३.६० देखि ३.६९ जिपिए ल्याउने विद्यार्थीहरूलाई १५ हजार दिने घोषणा गरेको छ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा १७ ले पनि एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप २५ हजार नगद दिने घोषणा गरेको छ। वडा अध्यक्ष उद्धव सत्यालले यसबाट विद्यार्थीलाई पढाइका लागि प्रेरणा मिल्ने अपेक्षा राखेका छन्।

यसअघि पनि स्थानीय तहहरूले एसइई परीक्षाअघि नै उत्कृष्ट अंक ल्याउनेलाई पुरस्कृत गरिने भन्दै प्रोत्साहन अर्थात् पुरस्कार घोषणा गरेका थिए। गुल्मीको रेसुङ्गा नगरपालिकाले गत वर्ष एसइईमा ३.२ वा सो भन्दा बढी जिपिए ल्याउने विद्यार्थीलाई मासिक एक हजार दिने घोषणा गरेको थियो।

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाले २०७९ मा एसइईमा ए प्लस ल्याउने सरकारी विद्यालयका सबै विद्यार्थीलाई १ लाख प्रोत्साहनले पुरस्कृत गरेको थियो। गाउँपालिका शिक्षा शाखाका अनुसार उत्कृष्ट एक छात्र र एक छात्रालाई पनि १/१ लाख प्रोत्साहन रकमले पुरस्कृत गरिने कार्यक्रम ल्याइएको थियो।

काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिकाले पनि एसइईमा जिपिए ४.० प्राप्त गर्नेलाई १ लाख रूपैयाँ, जिपिए ३.६ भन्दा माथि ल्याउनेलाई ७५ हजार रूपैयाँ र ३.२ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो।

किन पुरस्कार दिने घोषणा गर्छन् स्थानीय तह ?

बारपाक सुलिकोट गाउँपालिकाका शिक्षा अधिकृत पवित्रा शर्माले विद्यार्थीहरूलाई पढ्न र उच्च शिक्षा पढ्नमा प्रेरणा मिलोस भनी पुरस्कृत गर्ने घोषणा गरेको जानकारी दिइन्।

उनका अनुसार गाउँपालिकाले यसअघिदेखि नै यसरी विद्यार्थीहरूलाई प्रोत्साहन दिइरहेको छ। गाउँपालिकामा सामुदायिक विद्यालयमात्रै छन्। उक्त घोषणाले विद्यार्थीहरूमा मानसिक दबाब नपुग्ने उनको भनाइ छ।

‘विद्यार्थीहरूलाई पढ्ने बानीको विकाससँगै उत्कृष्ट नतिजा ल्याउन र उच्च शिक्षामा पनि राम्रो गरि पढ्ने प्रेरणा,हौसला मिलोस् भनेर हामीले पुरस्कृत गर्ने घोषणा गरेका हौँ,यसले विद्यार्थीहरूलाई धेरै फाइदा पुग्ने छ,’ उनले भनिन्।

गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टका अनुसार गाउँपालिकाको शिक्षाको गुणस्तर सुधार्नको लागि विद्यालय सुधार योजना, शिक्षक तालिम, अभिभावक शिक्षा कार्यक्रम, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ।

त्यस्तै, गाउँपालिकाले उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई पुरस्कार, अभिभावकविहीन विद्यार्थीहरूलाई छात्रावासमा राखेर कक्षा १२ सम्मको निःशुल्क शिक्षा, प्राविधिक शिक्षामा छात्रवृत्ति, एमबिबिएस अध्ययनमा छात्रवृत्ति, स्नातकोत्तर तहमा अध्ययनरत दलित तथा बराम समुदायको विद्यार्थीलाई छात्रवृत्ति, गोरखा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्तिलगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी उनले दिए।

उनका अनुसार एसइई परीक्षामा बारपाक सुलिकोट गाउँपालिकाबाट नियमितर्फ २९८ जना र ग्रेडवद्धितर्फ ७३ जना गरि कूल ३७१ जना विद्यार्थी सहभागी हुँदै छन्।

‘सबै भाइबहिनीलाई पर्याप्त तयारी र उच्च मनोबलसहित परीक्षामा सामेल भई सफलता प्राप्त गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ जारी सूचनामा भनिएको छ, ‘साथै सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबुको मनोबल उच्च बनाउन र अध्ययनको वातावरण तयार गर्न भूमिका खेलिदिनुहोस् भन्ने आग्रह पनि गर्दछु।’

यो वर्षको एसइई परीक्षा विहान ८ बजेदेखि विहान ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइई परीक्षा तालिकाअनुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।

सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ।

चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ। चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षा, संस्कृततर्फ शुक्लयजुर्वेद‚ सामवेद, अथर्ववेद, नीतिशास्त्रलगायत विषयको परीक्षा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.