काठमाडौँ : सरकारले चैते धानको उत्पादन बढाएर मुलुकलाई धान-चामलमा आत्मनिर्भर बनाउने लक्ष्य राखे पनि आयात रोक्न सकिएको छैन ।
नेपालमा मुख्य गरी दुई बाली (वर्षे र चैते) धानको खेती हुने गरेको छ । वर्षे धानको भन्दा चैते धानको उत्पादकत्व धेरै भएकाले चैते धान खेती विस्तार गरी धान चामलमा मुलुकलाई आत्मनिर्भर बनाउने लक्ष्य सरकारको छ । सरकारले यसअघि नै खेती हुने क्षेत्रफल विस्तार गर्ने योजना बनाएको थियो तर सिँचाइ लगायतका आवश्यक स्रोतको कमीका कारण पूरा हुन नसकेको बताउँछन् कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ ।
आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा चैते धानमा केन्द्रित कार्यक्रम ल्याउने गरी तयारी भइरहेको छ । ‘चैते धानको खेती हुने क्षेत्र वर्षेनि एक दुई हजारका दरले घटबढ हुने गरेको छ, खाद्य सुरक्षा र धान चामलमा आत्मनिर्भरताका लागि चैते धान सरकारको विशेष प्राथमिकतामा छ‘, डा. श्रेष्ठले भने‚ ‘अर्को वर्ष यसको विशेष कार्यक्रम आउँछ, ऊर्जा जलस्रोत सिँचाइ मन्त्रालयसँग समन्वय गरेर योजना तर्जुमा गर्ने तयारीमा छौं ।’
सरकारको प्राथमिकतामा चैते धान
धानमा आत्मनिर्भरता हासिल गर्ने सरकारको नीति रहेकाले चैते धानको उत्पादन बढाउन खेती विस्तार गर्न लागिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न पालिकामा कार्यक्रम गर्दै छ ।
पाँच छ वर्षदेखि करिब ३० वटा ठूलो र मध्यम सिँचाइ प्रणालीसँग आबद्ध भएका पालिकामा चैते धानलाई केन्द्रित गरेर कार्यक्रम पठाउने गरिएको सहसचिव श्रेष्ठ बताउँछन् । यस्तैगरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि विभिन्न ठाउँमा चैते धानको क्षेत्रफल बढाउने काम भइरहेको छ। यद्यपि कतिपय ठाउँमा सिँचाइको अभाव लगायतका कारण अपेक्षित रुपमा बढ्न सकेको नसकेको उनले बताए । ठूला सिँचाइ परियोजनाहरूसँग मिलेर चैते धानको खेती विस्तार गर्ने कार्य भइरहेको श्रेष्ठले बताए ।
‘पोहर सिँचाइ विभागसँग मिलेर अझ वृहत् रुपमा गर्ने भनी टोली बनाई स्थलगत अध्ययन, अवलोकन गरेर प्रोजेक्ट समेत बनाइयो तर स्रोतको व्यवस्थापन हुन नसक्दा गर्न सकिएन’, उनले भने‚ ‘तर अब चैते धानलाई एकदमै प्राथमिकतामा राखेर सम्भवतः आगामी वर्ष निश्चित रुपमा नीति तथा कार्यक्रम र बजेटमा पनि यो विषय बोल्छौँ। यसैअनुरुप तयारी छ ।’
खाद्य सुरक्षाको लागि सबैभन्दा पहिले धान चामलमा आत्मनिर्भरता कायम हुन आवश्यक रहेको भन्दै उनले मसिनो चामल खाने बानी बढेका कारण आयात कम हुन नसकेको बताए ।
नेपालमा वार्षिक ७० लाख टन धानको माग रहेकोमा ५४ लाख टन हाराहारी नेपालमा उत्पादन हुन्छ । नेपालको उत्पादनले नपुगेपछि मुख्य गरी भारत र अन्य देशबाट ठूलो रकम खर्च गरेर चामल आयात गर्नुपर्ने अवस्था छ । ‘हामी सबै मोटो धान उत्पादन गर्ने, मसिनो चामल खाने हुँदा पछिल्लो समय मसिना धान चामलको आयात बढिरहेको छ’, सहसचिव श्रेष्ठले भने‚ ‘यसकारण मसिना धान–चामललाई लक्षित गरेर पनि कार्यक्रम भइरहेका छन् ।’
सिँचाइ लगायतका सुविधा विस्तार गरी चैते धान खेती हुने क्षेत्र बढाउन र किसानलाई चैते धानको खेतीमा आकर्षित गर्न सकियो भने आन्तरिक खपत पूरा गर्न सकिने विश्वास गरिएको छ ।
किसानलाई सोझै अनुदान
अहिले सरकारले केही पालिकामा किसानलाई सोझै अनुदान दिने व्यवस्था पनि गरेको छ । चैते धान खेती विस्तार गर्न लागिएका पालिकामा किसानलाई सिँचाइ प्रणालीमा पहुँचदेखि सोझै अनुदान दिने गरिएको छ ।
‘हामीले सीमित पालिकामा काम गरिरहेका छौं, जहाँ किसानलाई चैते धान लगाए बापत प्रति कट्ठा ६ सयका दरले अनुदान दिने व्यवस्था छ’, उनले भने‚ ‘नमुनाको रूपमा किसानको लागत बढी, फाइदा कम छ र त्यहाँ चैते धान लगाउन किसान इच्छुक छैनन्। त्यहाँ लागत कम गराई किसानलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सोझै अनुदान दिने गरिएको हो ।’ पहिले करिब ८० भन्दा बढी पालिकामा यस्तो व्यवस्था गरिएकोमा बजेटको सीमितताका कारण यो वर्ष घटेको बताइन्छ ।
आत्मनिर्भर बन्ने लक्ष्य
चैते धानको खेती विस्तार गर्ने भनिएको छ तर कतिमा लाग्छ चैते धान भन्ने यकिन सरकारी तथ्यांक नै छैन ।
पालिकाले तथ्यांक उपलब्ध नगराउँदा चैते धानको यकिन क्षेत्रफल नभएको सहसचिव श्रेष्ठले बताए । ‘तथापि कृषि मन्त्रालयले १ लाख २५ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती भएको अनुमान गरेको छ र यसलाई दोब्बर बनाउन सके धान चामलमा आत्मनिर्भर बन्छौँ भनेर लक्ष्य निर्धारण गरेका छौं’‚ उनले थपे ।
धानखेती क्षेत्रफल र उत्पादन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादनको अनुमान गरिएको छ। यो उत्पादन गत वर्षको तुलनामा ४.०४ प्रतिशतले बढी हो ।
गत वर्षभन्दा १.२८ प्रतिशत कम यसवर्ष अनुमानित १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । धानको उत्पादकत्व बढेर ४.१९ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।
आर्थिक वर्ष ०८०।८१ मा कुल १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको थियो भने उत्पादकत्व ३.९८ टन प्रति हेक्टर रहेको थियो ।
आर्थिक वर्ष २०८०।८१ मा १३ लाख ३४ हजार २७७ हेक्टरमा वर्षे धान रोपिएको थियो । यो वर्ष वर्षे धानको उत्पादकत्व ३.९० मेट्रिक टन प्रतिहेक्टर रहेको थियो । कुल ५२ लाख ३ हजार ४२६ टन धान फलेको थियो ।
चैते धानको उत्पादकत्व वर्षे धानको भन्दा उच्च रहेको छ । गतवर्ष १ लाख ४ हजार ७१२ हेक्टरमा चैते धान लगाइएकामा ५ लाख २० हजार ८०८ मेट्रिक टन उत्पादन भएको थियो भने उत्पादकत्व ४.९७ प्रतिहेक्टर रहेको थियो ।
समर्थन मूल्य
चालू आर्थिक वर्ष २०८१।८२ का लागि केही दिनअघि चैते धानको समर्थन मूल्य तय गरेको चालू आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ ।
अठार प्रतिशतभन्दा चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरिएको सरकारले जनाएको छ । गत आर्थिक वर्ष २०८०।८१ मा १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा तोकिएको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।