|

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थ्य क्लिनिकको सेवा सञ्चालन अनुमति लिएर पोलिक्लिनिक सञ्चालन गरिरहेको सप्तरी सदरमुकाम राजविराजस्थित प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिएका छन्। 

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो गृहजिल्ला सप्तरीको सदरमुकाम राजविराजमा आइतवार गरेको स्वास्थ्य संस्था अनुगमनका क्रममा एकथरी अनुमति र अर्कोथरी सञ्चालनमा रहेको प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर बन्द गर्न निर्देशन दिएका हुन्।

प्रसूति तथा स्त्रीरोग क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरले स्थानीय तहबाट क्लिनिक सञ्चालन अनुमति लिए पनि शय्या राखी इमेजिङ तथा शल्यक्रियासहितको सुविधा उपलब्ध गराउँदै आएको छ। 

यस्तो सुविधासहितको स्वास्थ्य सेवा सञ्चालन गर्न पोलिक्लिनिकका रूपमा प्रदेश सरकारबाट सेवा सञ्चालन अनुमतिपत्र लिने प्रावधान छ।

राजविराजमा सञ्चालन हुँदै आएको भारती इमेजिङ सेन्टरलाई बन्द गर्न निर्देशन दिइएको छ। सेन्टरसँग सेवा सञ्चालन गर्ने अनुमतिपत्र नरहेकाले मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरले बताए। 

यसैगरी स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमतिपत्र प्राप्त गरेका तर मापदण्ड पूरा नगरेका अनार भुवनेश्वर हस्पिटल प्रालि र सञ्जनदीप हस्पिटललाई २ महिनाभित्र मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ। 

सेवा सञ्चालन अनुमति प्राप्त गरेको ५० शय्याको युनिक सिटी अस्पताललाई २ महिनाभित्र नवीकरण गराउन भनिएको छ। 

२ सय शय्याको छिन्नमस्ता अस्पतालको अवस्था सन्तोषजनक पाइए पनि सरसफाइ व्यवस्थापनमा थप जोडबल गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । 

मुख्यमन्त्री सिंहले गजेन्द्रनारायण सिंह अस्पतालसमेतको अनुगमन गरेका छन्। अनुगमनका क्रममा अस्पतालको सेवाको गुणस्तर बढाउन तथा उचित जनशक्ति व्यवस्थापनमा ध्यान दिन मुख्यमन्त्री सिंहले अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन्। 

संघ सरकारमातहत सञ्चालित गजेन्द्रनारायण सिंह अस्पतालमा आकस्मिक कक्षमा मेडिकल अफिसर नरहेका, बिदा स्वीकृतिबिना केही जनशक्ति कार्यस्थलमा नभेटिएका र ल्याबको आम्दानीमा ५० प्रतिशतभन्दा बढी कमी आएकोलगायत समस्या देखिएका छन्।

मुख्यमन्त्री सिंहले सो अस्पतालमा जनशक्ति व्यवस्थापन, सेवा थप र उपकरण उपलब्धता आदि विषयमा संघीय स्वास्थ्यमन्त्रीसँग समेत छलफल गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.