एनओसीको साधारणसभासमेत नगराएर सर्वोच्चको अपहेलना गरेको आरोप

|

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले तथाकथित नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठमाथि खेल संघ दर्ता गर्ने तर नियमित रूपमा गर्नुपर्ने साधारणसभा नगर्ने र जीवनभर आफैँमात्र अध्यक्ष भएर मनपरी गरिरहेको आरोप लगाएका छन्। 

उनले एनओसीमा भएका ६ संघले निर्वाचन नगरेको र ४ वटा खेलबाट कीर्ते गरेर अवैधानिक रूपमा ओलम्पिक कमिटीको प्रतिनिधि भएर बसेको आरोप लगाए। 

उनले पदाधिकारी भनिएकाहरुले भ्रम फैलाइरहेको भन्दै अहिलेसम्म कुनै पनि खेलाडीलाई प्रतियोगिता खेल्न जान नरोकेको र एनओसीका पदाधिकारी भनिएकाले मात्र विदेश भ्रमण जान रोकेको बताए। 

मन्त्री चौधरीले एनओसीको निर्वाचन २०७६ भदौ २० गते भएको र त्यसअवधिबाट चारवर्षे कार्यकाल २०८० भदौ १९ गते नै सकिएको उल्लेख गरे। 

मन्त्री चौधरीले आफ्नो पदावधि सकिएपछि तदर्थ कमिटीले विधानविपरीत विधान संशोधन गराएको र त्यहाँबाट निर्वाचित अवैधानिक हुने बताएका छन्। 

विधान संशोधन र सदस्यताका विषयमा अदालतमा मुद्दा चलेको अवस्थामा पनि निर्वाचन गर्नु अदालतको अपहेलनासमेत भएको मन्त्री चौधरीको भनाइ छ। 

मन्त्री चौधरीले ऐन कानूनअनुरूप गर्नुपर्ने साधारणसभा, अडिट रिपोर्ट र खेल संघले नियमित रूपमा गर्नुपर्ने काम नगरेको हुँदा कारबाही प्रक्रिया अगाडि बढाइएको बताए। 

अदालतको आदेशविपरीत निर्वाचन गरेको भन्दै नेपाली खेलकुदका नियमन निकाय युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एनओसीको वर्तमान नेतृत्वलाई अवैधानिक ठहर गर्दै आएका छन्। 

त्यसमाथि सहभागी ६ खेल संघलाई निलम्बनका साथै त्यसका र एनओसीका पदाधिकारीलाई विदेश भ्रमणमा पनि सरकारले रोक लगाएको थियो। 

त्यस कारण केही समयअगाडि एनओसीका वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ कुवेत जाने क्रममा सरकारलाई त्यहाँबाट उनलाई डिपोर्ट गर्नसमेत पत्राचार गरेको थियो। 

खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अवैधानिक ठहर गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट तेस्रोपल्ट अध्यक्षमा निर्वाचित जीवनराम श्रेष्ठले गत हप्तामात्र पत्रकार सम्मेलन गर्दै नेपाली खेलकुदको नियमनकारी निकायले मानव अधिकार हनन गरिरहेको आरोप लगाएका थिए। 

एनओसीका पदाधिकारीहरूले अध्यक्ष श्रेष्ठलाई कुवेत भ्रमण जाने क्रममा डिपोर्ट गर्ने प्रयास गरेको भन्दै सरकार, खेलकुद मन्त्रालय र खेलकुद परिषद्को चर्को आलोचना गरेका थिए।

तर त्यसको प्रतिवादस्वरूप मन्त्रालयले आइतवार पत्रकार सम्मेलन गरेर तथाकथित एनओसीका पदाधिकारीले लगाएको आरोपप्रति ध्यानकर्षण भएको उल्लेख गर्दै भ्रममा नपर्न सबैसँग आग्रह गरेको छ। 

मन्त्रालय र परिषद्ले अवैधानिक ठहर गरेको भनेर निर्वाचित पदाधिकारीले लगाएका आरोप निराधार रहेको पनि उल्लेख गरेको छ। 

आफूलाई एनओसीका पदाधिकारी हौँ झैँ गरेर प्रस्तुत गरिएकोप्रति पनि खेलकुदको नियमनकारी निकायले आपत्ति जनाएको छ। 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीको प्रोत्साहन गर्ने काममा सदैव काम गरिरहेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.