काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) लाभकारी परियोजना भएको बताएका छन्।
काष्ठमाण्डप डायलगको समापनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले बिआरआई परियोजनाबाट नेपालले धेरै किसिमबाट फाइदा लिनसक्ने दावी गरे।
उनले बिआरआई विश्वका १५० वटा देशले बिआरआई स्वीकार गरी फाइदा लिइरहेको दावी गरे। उनले नेपालले बिआरआईमार्फत ऋण लिने कि अनुदान भन्ने विषयमा विवाद गर्न नहुने बताए।
बिआरआईको धारणा बुझेपछि सस्तो ब्याजमा ऋण लिएर पनि काम गर्न सकिने उनको भनाइ छ। उनले देश विकासका लागि विदेश नीतिमा राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिए।
‘विदेश नीतिमा पनि राष्ट्रिय सहमतिको जरुरत पर्छ, तबमात्र देश अगाडि बढाउन हामी राम्रो भूमिका खेल्न सक्छौँ। बिआरआई नेपालले लिने कि नलिने यो ठूलो विवादको विषय बन्नुपर्ने विषय नै होइन‚’ उनले भने, ‘आजको विश्व परिप्रेक्ष्यमा बिआरआई एउटा लाभकारी प्रोजेक्ट हो भन्ने प्रमाणित भइ नै सकेको छ। हाम्रो निम्तिमात्र होइन १५० भन्दा बढी देशले त्यसलाई ग्रहण गरेर शिद्ध गरी सकेको अवस्था हो। त्यसमाथि पनि ऋण लिने कि ग्राण्ट लिने भन्ने त प्रश्न नै होइन। त्यसमा ग्राण्ट वा एकदमै सफ्ट लोन पनि हुन सक्छ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले बिआरआई एक्काइसौँ शताब्दीको संसारको सबैभन्दा महत्वपूर्ण र ठूलो परियोजनाको रुपमा आएकाले नेपालले उपयोग गर्नुपर्ने बताए।
उनले परियोजनाबाट फाइदा उठाउन सबै राजनीतिक दलले गहन छलफल गरेर सहमति निर्माण गर्नुपर्नेमा जोड दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।