|

काठमाडौं : लिग कपको उपाधि  न्युक्यासल युनाइटेडले जितेको छ। गएराति भएको खेलमा  लिभरपुल माथि २–१ गोलको जीत हात पार्दै न्युक्यासलले ५६ वर्ष देखिको घरेलु प्रतियोगिताको उपाधि खडेरी पनि तोड्यो।

वेम्बलीमा साढे ८८ हजार बढी समर्थक बीच भएको फाइनलको ४५औं मिनेटमा न्युक्यासलले अग्रता लियो।  उसका लागि न्युकयसालमा नै जन्मिएका डान बनले गोल गरे। पहिलो पटक इङल्यान्ड राष्ट्रिय टिममा पनि बोलाइएका ३२ वषीर्य बनले केइरन ट्रिपियाको कर्नरलाइ हेडरमार्फत गोलमा परिणत गरेका थिए। पहिलो हाफमा प्रिमियर लिग लिडर लिभरपुल १–० गोलले पछि पर्‍यो।​

५२औं मिनेटमा अलेक्जेन्डर इसाकले थप गोल गरेपछि न्युक्यासल समर्थकको खुशीको सीमा रहेन। इन्जुरी समयमा लिभरपुलका लागि सब्सिच्युट फेडेरिको कियजाले एक गोल गरे पनि जितका लागि पर्याप्त भएन। 

न्युक्यासलले घरेलु प्रतियोगिताको उपाधिका रुपमा पछिल्लो पटक सन १९५५ मा एफए कप जितेको थियो। त्यसपछि १९६९ मा इन्टर सिटी फेयर्स कप जितेको थियो। यो जीतले न्युक्यासलको अर्को सिजनको युरोपियन प्रतिस्पर्धामा पनि स्थान पक्का भएको छ।

 लिभरपुललाई भने एक साताको अन्तरमा अर्को झड्का लागेको छ। लिभरपुल च्याम्पियन्स लिग नक आउटमा पेरिस सेन्ट जर्मेन पिएसजी सँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.